१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ मङ्सिर १२ सोमबार ०७:०६:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

जसले पाँच सयभन्दा कम मतान्तरले चुनाव जिते

कांग्रेसका ६, एमालेका पाँच, माओवादी, जसपा र स्वतन्त्रका एक–एक उम्मेदवार पाँच सयभन्दा कम मतान्तरमा विजयी

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ मङ्सिर १२ सोमबार ०७:०६:००

प्रतिनिधिसभाको निर्वाचनमा हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार १४ सिटमा थोरै मतान्तरमा हारजित भएको छ । जसमा ४७ देखि पाँच सयसम्मको मतान्तर छ । सुरुदेखि अग्रता बढाएका उम्मेदवार अन्तिममा थोरै मतान्तर पराजित भएका छन् । केही उम्मेदवार भने सुरुदेखि पछि परेर अन्तिममा विजयी भएका छन् । कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेको पाँचथरमा एमाले गढ भत्काउने उत्कट चाहना मात्रै ४७ मतले विराम लगाइदियो । सुरुवाती चरणमा अग्रता लिएका उनी र एमाले उम्मेदवार वसन्त नेम्वाङबीच तीव्र प्रतिस्पर्धा थियो । 

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम विश्लेषण गर्दा कांग्रेस एमालेभन्दा झन्डै १२ हजार मतले अघि थियो । त्यसो हुँदा प्रतिनिधिसभा निर्वाचनमा पनि सजिलै जित निकाल्ने पक्षमा उनी ढुक्क थिए । तर, अन्तिम अवस्थामा परिणाम ठिक उल्टो आयो । ४७ मतले उनी हारे । उनले ३२ हजार ६३ मत ल्याउँदा वसन्तको ३२ हजार एक सय १० मत आएको थियो । योसँगै पाँचथरबाट नेम्वाङ चौथोपटकका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका उनी यसअघि ०४८, ०५६ र ०७४ मा सांसद थिए । 

दोस्रोपटक काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा उठेका रवीन्द्र मिश्र यसपटक कांग्रेस नेता प्रकाशमान सिंहलाई पराजित गर्नेमा ढुक्क थिए । तीनपटक सांसद भइसकेका काठमाडौ १ का मतदाता पनि प्रकाशमानको विकल्प खोजिरहेका थिए । मतदाताका मनोविज्ञान बुझेका मिश्र चुनावअघि उत्साहित देखिन्थे । तर, उनी मात्रै एक सय २५ मतले हारे । उनले सात हजार १८ मत ल्याउँदा प्रकाशमानले सात हजार एक सय ४३ मत ल्याए । योसँगै चौथोपटकका लागि प्रकाशमान काठमाडौं १ बाट सांसदमा पुनः निर्वाचित भए । उनी ०६४, ०७० र ०७४ मा सोही क्षेत्रबाट लगातार सांसद छन् । 

अघिल्लो निर्वाचनमा मनाङबाट विजयी एमालेका पोल्देन छोपाङ यसपटक पनि चुनाव जित्नेमा आशावादी थिए । तर, अन्त्यमा उनले सोचेजस्तो परिणाम आएन । उनी कांग्रेसका टेकबहादुर गुरुङसँग तीन सय २८ मतान्तरले पराजित हुन पुगे ।थोरै मतान्तरमा पराजित हुनेमा एमालेका वृजेश गुप्ता पनि पर्छन् । कपिलवस्तु २ बाट उनी कांग्रेस उम्मेदवार सुरेन्द्र आचार्यसँग पराजित हुन पुगे । ०७४ को निर्वाचनमा गुप्ता सोही क्षेत्रबाट एमाले चुनाव चिह्न लिएर उठेका थिए । निर्वाचनको केही दिनअघि मात्र एमालेमा प्रवेश गरेका गुप्ता तीन सय १७ मतले पराजित हुन पुगे ।

मोरङ–१ बाट एमाले उम्मेदवार घनश्याम खतिवडा पनि झिनो मतान्तरले पराजित हुन पुगेका छन् । उनी कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बूसँग मात्रै चार सय ३० मतान्तरले पराजित भए । खतिवडाले २६ हजार आठ सय ६७ मत ल्याउँदा लिम्बूले २७ हजार दुई सय ९७ मत पाए । सर्लाही ३ मा एमालेका हरिप्रसाद उप्रेतीले चार सय ७० मतान्तरमा चुनाव जितेका छन् । उनले माओवादीका नरेन्द्र साहलाई झिनो मतान्तरमा चुनाव जितेका हुन् । उप्रेतीले ३२ हजार नौ सय ३८ मत ल्याउँदा साहले ३२ हजार चार सय ३८ मत पाए । अघिल्लो निर्वाचनमा उप्रेती माओवादीका रामेश्वर रायसँग पराजित हुन पुगेका थिए ।

 सात उम्मेदवार जसले दुई सयभन्दा कम मतमा चुनाव जिते
एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट जित्ने पक्षमा ढुक्क थिए । माओवादी केन्द्रका ‘हेभिवेट’ उम्मेदवार कृष्णबहादुर महरा यसपटक उक्त क्षेत्रमा उम्मेदवार थिएनन् । उनको ठाउँमा माओवादी नेतृ रेखा शर्मा चुनावी मैदानमा थिइन् । तर, मतपरिणाम पोखरेलले सोचेजस्तो आएन । मात्रै एक सय ९६ मतले उनी निर्वाचनमा पराजित हुन पुगे । शर्माले २६ हजार आठ सय ७७ मत ल्याउँदा उनले २६ हजार ६ सय ८१ मत ल्याए । पोखरेलको पराजयलाई यो निर्वाचनकै सबैभन्दा ठूलो ‘अप्रत्याशित’ परिणाम मानिएको छ । किनकि पोखरेल एमालेमा अध्यक्ष केपी ओलीपछि शक्तिशाली पदाधिकारी मानिन्छन् ।


एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट जित्ने पक्षमा ढुक्क थिए । माओवादी केन्द्रका ‘हेभिवेट’ उम्मेदवार कृष्णबहादुर महरा यसपटक उक्त क्षेत्रमा उम्मेदवार थिएनन् । उनको ठाउँमा माओवादी नेतृ रेखा शर्मा चुनावी मैदानमा थिइन् । तर, मतपरिणाम पोखरेलले सोचेजस्तो आएन । मात्रै एक सय ९६ मतले उनी निर्वाचनमा पराजित हुन पुगे । शर्माले २६ हजार आठ सय ७७ मत ल्याउँदा उनले २६ हजार ६ सय ८१ मत ल्याए । पोखरेलको पराजयलाई यो निर्वाचनकै सबैभन्दा ठूलो ‘अप्रत्याशित’ परिणाम मानिएको छ ।
 

मतपरिणाम नआएसम्म ताप्लेजुङको प्रतिनिधिसभा निर्वाचन देशभरका लागि ‘हट केक’ बन्यो । किनकि सो क्षेत्रमा एमाले सचिव योगेश भट्टराई उठेका थिए । उनीसँग माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री प्रतिस्पर्धामा थिए । सत्तागठबन्धनका साझा उम्मेदवार उनले भट्टराईलाई कडा टक्कर दिएका थिए । झिनो मतान्तरले मात्रै दुई प्रतिस्पर्धी अघिपछि थिए । अन्तमा बुढाक्षेत्री मात्रै एक सय ९० मतले चुनाव हारे । उनले २१ हजार सात सय ५३ मत ल्याउँदा योगेशले २१ हजार नौ सय ४३ मत ल्याएका थिए । प्रतिनिधिसभामा भट्टराईको यो दोस्रो ‘इनिङ’ हो । 

धनुषा २ बाट चुनाव उठेका एमाले उम्मेदवार उमाशंकर अरगरिया एक सय ५७ मतान्तरमा पराजित भए । उनी पनि चुनाव जित्नेमा ढुक्क थिए । किनकि उनलाई जनता समाजवादी पार्टीको समर्थन थियो । तर, मत उनले सोचेजस्तो आएन । उनले कांग्रेस उम्मेदवार रामकृष्ण यादवसँग चुनाव हारे । उनले १९ हजार नौ सय ५५ मत ल्याउँदा विजेता यादवले २० हजार एक सय १२ मत ल्याएका थिए । पूर्वमन्त्री अरगरिया चुनावको मुखमा जसपाबाट एमाले प्रवेश गरेका थिए । उनी केपी ओली सरकारमा मन्त्री बनेका थिए ।

मात्रै एक सय ५१ मतान्तरले चुनाव हार्नेमा कांग्रेस उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले पनि छन् । पर्सा ३ का उम्मेदवार उनी पनि चुनाव जित्नेमा ढुक्क थिए । किनकि उनलाई सत्तारूढ गठबन्धनको साथ थियो । तर, अन्तिम समयमा पासा उल्टियो । उनी एमाले उम्मेदवार राजकुमार गुप्तासँग पराजित हुन पुगे । उनले २४ हजार एक सय नौ मत ल्याउँदा गुप्ताले २४ हजार दुई सय ६० मत ल्याए । 

एमाले उम्मेदवार लक्ष्मीप्रसाद पोखरेललाई दैलेख २ को गढ जोगाउन निकै चुनौती थियो । उनले सोहीअनुसार रणनीति बनाएका थिए । सुरुवाती अग्रता लिएका उनलाई पनि निर्वाचन आफ्नो पक्षमा आउनेमा ढुक्क थियो । तर, अन्तिम अवस्थामा परिणाम उल्टियो । मात्रै एक सय ५३ मतले उनी पराजित बने । निर्वाचन जित्ने कांग्रेस उम्मेदवार दिक्पालकुमार शाहीले २० हजार एक सय ५८ मत ल्याउँदा उनले २० हजार पाँच मत ल्याए । 

यसपटक कुनै हालतमा एमालेको गढ भत्काउने योजनामा थिए इलाम २ का कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्का । किनकि उनलाई सत्तारूढ गठबन्धनको साथ थियो । प्रतिस्पर्धी एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई मतगणनामा पछि पनि पारे । तर, अन्तिममा परिणाम उल्टियो । उनले एक सय १४ मतले चुनाव हारे । उनको २९ हजार नौ सय ६ मत आउँदा सुवासचन्द्रको तीन हजार २० मत आएको थियो । 

सामूहिक व्यक्तिहत्या कसुरमा जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरी निर्वाचनमा उम्मेदवार बन्ने–नबन्ने टुंगो थिएन । यद्यपि, उनले बर्दिया २ बाट वारेसनामामार्फत उम्मेदवारी दर्ता गरे । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदियो । आयोगको यस्तो निर्णय आउन सक्नेमा रेशम चौधरी सचेत थिए । सोही कारण उनले आफ्ना बुबा लालवीर चौधरीलाई सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार उठाए । आयोगले रेशमको उम्मेदवारी खारेज गरेलगत्तै नागरिक उन्मुक्तिले लालवीरलाई समर्थन ग¥यो । अन्ततः उनले एक सय ३८ मतान्तरले चुनाव जिते । उनले २६ हजार पाँच सय २० मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले २६ हजार तीन सय ८४ मत ल्याएका थिए ।