
५० प्रतिशत अनुदानमा कृषि उपकरण दिने भन्दै दुईवटा सहकारी र सुरो नेपाल नामक गैरसरकारी संस्थाले कञ्चनपुरको लालझाडीका साढे तीन सय किसानको अढाई करोड ठगी गरेका छन् । सुरो नेपालमार्फत पावरटिलर, पानी तान्ने मोटर, घाँस काट्ने चारा मेसिन दिलाउने भन्दै अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले पैसा उठाएका थिए । एक वर्षसम्म पैसा वा उपकरण दुवै नपाएपछि किसानले बुधबार सहकारीमा तालाबन्दी गरिदिएका हुन् । गत वर्ष अनमोलले ११० किसानबाट ४८ लाख ४६ हजार र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट एक करोड ९३ लाख रुपैयाँ संकलन गरेका थिए ।
कृषि सामग्री खरिदका लागि कृषिउपज बिक्री–वितरणदेखि सहकारी, बैंक, आफन्तबाट ऋण निकालेर सहकारीलाई अग्रिम पैसा बुझाएका किसान बिचल्लीमा छन् ।
पटक–पटक पैसा फिर्ता माग्दा पनि नपाएपछि तालाबन्दी गरिएको लालझाडीका किसान अर्जुन चौधरीले बताए । ‘दोदा साना किसान सहकारीमार्फत कृषि सामग्री पाइने भएपछि ऋण निकालेर ९५ हजार रुपैयाँ बुझाएको थिएँ,’ उनले भने, ‘पावरटिलर, पानी तान्ने मोटर, घाँस काट्ने चारा मेसिनका लागि अग्रिम पैसा बुझाए पनि अहिलेसम्म दिएनन् ।’
अर्का किसान खडक रानाले आफूले अनमोल किसान सहकारीमै गएर रकम बुझाएको बताए । आधुनिक कृषि औजार खरिद गरेर कृषि गर्न खोजेको पनि ठगिएपछि समस्यामा परेको दुखेसो उनले पोखे । ‘पावर टिलरका लागि सहकारीमै गएर कर्मचारीलाई ७५ हजार रुपैयाँ बुझाएको हुँ,’ उनले भने, ‘रकम दिए पनि सामान दिएको छैन, सामान माग्न गएपछि सहकारीले सुरो नेपालबाट आएको छैन भनेर जवाफ दिने गरेको छ ।’
स्थानीय रतनसिंह रानाले सुरो नेपालले किसानबाट लाखौँ रकम संकलन गरेर आफूहरूको बिचल्ली बनाएको बताए । उनले किसानलाई कृषि सामग्री दिन्छु भन्दै किसानबाट लाखौँ रकम संकलन गरेर केही मान्छे विदेश भ्रमणमा घुम्न गएको बताए । किसानबाट संकलन भएको रकम केही सुरो नेपाल लालझाडीका स्थानीय एजेन्ट, सहकारीदेखि व्यक्तिहरूले दुरुपयोग गरेको दाबी गरेका छन् ।
सुरोका अध्यक्षसहित दुईजना जेलमा, ठगीमा अनुसन्धान गर्दै प्रहरी
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले ठगी मुद्दामा अनुसन्धान भइरहको बताए । उनका अनुसार सुरो नेपालका अध्यक्ष सुशीला खड्का, सहयोगी सुनिता चौधरी पुर्पक्षका लागि कारागारमा छन् । सहकारीबाट टीकाराम चौधरी र नवराज ओझाविरुद्ध पनि उजुरी परेको थियो । ‘संलग्नमाथि अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रवक्ता बोहराले भने ।
लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले आफ्नो पालिकामा रहेका किसान ठग्नेमाथि कानुनी कारबाही र चलअचल सम्पत्तिबाट किसानको रकम फिर्ता दिलाउनुपर्ने बताए । ‘किसानबाट पैसा उठाउने दुई मान्छे जेलमा छन्, उनीहरूको संस्था, व्यक्तिगत चलअचल सम्पत्तिबाट किसानको रकम फिर्ता दिलाउने काम भइरहेको छ,’ उनले भने, ‘बाँकी किसान ठग्ने व्यक्ति, समूह, सहकारीमाथि पनि छानबिन गरेर दोषी भेटिए कारबाहीका लागि पहल गर्छु ।’
किसानबाट पैसा उठाएर एनजिओको खातामा
अनमोल र दोदा साना किसान सहकारीका व्यवस्थापकहरूले किसानबाट संकलन भएको रकम सुरो नेपाल नामक एनजिओको खातामा जम्मा गरेको बताएका छन् । अनमोल कृषि सहकारीका व्यवस्थापक खड्क रानाले ६३ किसानबाट पावरटिलरका लागि ७५ हजार र ४८ किसानबाट पानी तान्ने मोटरका लागि १२ हजारका दरले संकलन भएको ४८ लाख ४६ हजार रुपैयाँ सुरो नेपालकै खातामा पठाइदिएको बताए । उनले सहकारीले किसानले दिएको रकम हिनामिना नगरेको दाबी गर्दै ४० वटा पानी तान्ने मोटर मात्रै आएको बताए ।
दोदा साना किसानका व्यवस्थापक गणेश रानाले साढे दुई सय किसानबाट संकलन भएको एक करोड ९३ लाख सुरो नेपालको खातामा जम्मा गरेको बताए । पावरटिलरका लागि ७५ हजार, औषधि छर्किने ट्यांकीका लागि दुई हजार, पानी तान्ने मोटरका लागि १२ हजार, घाँस काट्ने मेसिनका लागि २० हजार र रोटाभेटरका लागि ४५ हजारका दरले किसानबाट रकम संकलन भएको उनको भनाइ छ । तर, सुरो नेपालबाट ४० थान मोटर र सय थान औषधि छर्किने ट्यांकीबाहेक अन्य सामान नआएको रानाले दाबी गरे ।