Skip This
यू–२० महिला एसियन कप छनोट : ३८ सेकेन्डमै गोल गरेको नेपालले भुटानसँग अंक बाँड्यो 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २२ बिहीबार o७:o६:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–२० महिला एसियन कप छनोट : ३८ सेकेन्डमै गोल गरेको नेपालले भुटानसँग अंक बाँड्यो 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार o७:o६:oo
  • अघिल्ला दुई भेटमा समग्रमा १४–१ को फराकिलो अन्तरले जित निकालेको नेपाल एएफसी यू–२० एसियन कप छनोटमा भुटानसँग १–१ बराबरीमै रोकियो

खेल सुरु भएको ३८ सेकेन्डमै अग्रता गोल गरेको नेपालले बुधबार एएफसी यू–२० महिला एसियन कप छनोट, २०२५ को पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी खेलेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपालले ३८ सेकेन्डमै १–० को अग्रता लिएको थियो । खेलको १८औँ मिनेटमा भुटानले १–१ को बराबरी गोल फर्कायो । नेपालकी सेनु परियार र भुटानका लागि केल्देन वाङ्मोले गोल गरेका थिए ।

यामप्रसाद गुरुङको प्रशिक्षणमा रहेको नेपालले दमदार सुरुवात गरे पनि त्यसपछि गतिलो प्रदर्शन गर्न सकेन । भुटानले घरेलु मैदानमा एक गोल पछाडि रहँदा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । बराबरी गोल भएपछि भुटानले नेपाललाई थप गोल गर्ने अवसर दिएन । नेपालले बल नियन्त्रणमा राख्न र विपक्षीविरुद्ध दबाब बनाउन संघर्ष गर्नुपर्‍यो । अधिकांश समय नेपाली खेलाडी बल नियन्त्रणमा लिन आत्तिएका थिए ।

गत महिना बंगलादेशमा भएको साफ च्याम्पियनसिपको उच्च गोलकर्ता पूर्णिमा राई र अर्की प्रभावशाली अट्याकर मीना देउवा भुटानविरुद्ध चल्न सकेनन् । साफ महिला यू–२० च्याम्पियनसिपमै नेपालले यही भुटानको टोलीविरुद्ध दुईपटक प्रतिस्पर्धा गर्दा सानदार जित निकालेको थियो । नेपाल पहिलो खेलमा ६–१ र दोस्रो खेलमा ८–० ले विजयी भएको थियो ।

बराबरीपछि नेपालको उत्कृष्ट समूह उपविजेता बनेर फाइनल चरण खेल्ने योजनामा धक्का लागेको छ । खेलपछि समूह ‘ए’मा नेपाल र भुटानले समान १ अंक बटुलेका छन् । समूहमा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० हराउँदै ३ अंक जोडेको हो । अब, नेपालले शुक्रबार साउदी अरेबियासँग खेल्नेछ । दक्षिण कोरिया र भुटानबिच दोस्रो खेल हुनेछ । समूहको शीर्ष टोली सिधै थाइल्यान्डमा हुने एसिया कपमा छनोट हुनेछ । छनोट भएका राष्ट्रले अर्को वर्ष थाइल्यान्डमा हुने फाइनल चरणको प्रतियोगिता खेल्नेछन् ।

३८ सेकेन्डमै गोल
नेपाललाई खेल सुरु भएको एक मिनेट पनि बित्न नपाउँदै सेनुले अग्रता दिलाइन् । अट्याकिङ मिडफिल्डर सुक्रिया मियाँले बायाँ साइडबाट निकालेको क्रस डिबक्सभित्र भुटानका खेलाडीले क्लियर गर्न सकेनन् ।

त्यसको फाइदामा सेनुले गोल गरेकी हुन् । उनलाई रोक्ने प्रयास गरे पनि भुटानी गोलरक्षक पेमा याङजोम सफल भइनन् । खेलको १५औँ मिनेटमा भुटानले १–१ को बराबरी गोल फर्कायो । नामसेल वाङजोमको पासमा केल्देनले गोल गरिन् । नेपाली रक्षक सिम्रन राईलाई बिट गरेकी केल्देनले गोलरक्षक लीला जोशीलाई पनि छक्याइन् । 

साफ खेलेका खेलाडीलाई नै निरन्तरता
नेपालका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिप खेलेका खेलाडीलाई अवसर दिएका छन् । साफमा नेपाल उपविजेता भएको थियो । निर्णायक खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाल लगातार उपाधि जित्नबाट वञ्चित भएको थियो । एएफसीको प्रतियोगितामा पनि नेपालको कप्तानमा बिर्सना चौधरी यथावत् रहिन् ।

अग्रपंक्तिमा पूर्णिमा राई र मीना देउवा रहँदा मिडफिल्डमा कप्तान विर्सनालाई सुक्रिया मिया, सुशीला केसी र सेनु परियारले साथ दिएकी थिइन् । रक्षापंक्तिमा गंगा रोकायासँगै सिमरन राई, माया मास्के र अनिशा राई रहे । पहिलो खेलमा गोलपोस्टको जिम्मेवारी लीला जोशीले पाइन् । उनले सुजता तामाङलाई बेन्चमै पारिन् ।

उत्तर कोरियाको १५ गोल 
समूहकै अर्काे खेलमा बलियो प्रतिद्वन्द्वी उत्तर कोरियाले साउदी अरेबियालाई १५–० ले हरायो । कोरियाको जितमा दुई खेलाडीले ह्याट्रिक गरे । पाक आकेले खेलको ७, २४ र ८२औँ मिनेटमा गोल गरिन् । काङ रिउ मिले खेलको १६, ४२ र ४८औँ मिनेटमा ह्याट्रिक पूरा गरेकी हुन् । यस्तै, री सुजोन, रो उन ह्याङ र चोई चोङ गुमले दुई गोल गरेका थिए । चोई रिम जोङ, सो रिउ ग्योङ र री ये ग्योङले समान एक गोल गरेका हुन् ।

खेलाडीले भुटानलाई हल्का रूपमा लिए : यामप्रसाद गुरुङ, प्रशिक्षक, नेपाल
साफ च्याम्पियनसिपको नतिजाले हुन सक्छ, खेलाडीले भुटानलाई हल्का रूपमा लिएको पाएँ । सुरुमै गोल निस्किएका कारण पनि यस्तो भएको हुन सक्छ । गत महिनाको प्रदर्शनका आधारले पनि भुटानमाथि सहज जित हुने खेलाडीको मनोविज्ञान भएको हुनुपर्छ । समग्रमा भुटानले आफ्नो घरेलु मैदानमा हामीले भन्दा निकै राम्रो प्रदर्शन गरेको थियो । उनीहरूको टोलीमा सिनियर तीन खेलाडी छन् । यसले पनि उनीहरूको मनोबल उच्च भएजस्तो लाग्छ । भुटानले साफको नतिजामा धेरै सुधार ल्याएको छ । आगामी दिनमा बलिया साउदी अरेबिया र उत्तर कोरियासँग खेल्नुपर्छ । आगामी दुई खेलका लागि निकै मिहिनेत गर्नुपर्छ । भुटानसँगको बराबरीले एसिया कपमा छनोट हुने योजनामा धक्का लागेको छ ।