
शान्त वातावरणमा प्रार्थना गर्ने सोचले रुसी साहित्यकार टल्सटोय बिहान पाँच नबज्दै चर्च पुगे । तर, उनीभन्दा अगाडि नै अर्को एक व्यक्ति भगवान्सामु भन्दै थियो– हे भगवान्, मैले धेरै पाप गरेको छु । त्यो सम्झिँदा मलाई लज्जाबोध भइरहेको छ । मलाई माफ गर्नुहोस् ।
टल्सटोयलाई त्यसरी आफ्नो अपराध स्विकार्ने मान्छे महान् लाग्यो । उनलाई गल्ती स्विकारेर क्षमायाचना गर्नु महान् कर्म लाग्यो । नजिक पुगेपछि उनले अपराध स्विकार्ने मानिसलाई चिने । उनी सहरका ठुला व्यापारी थिए । टल्सटोयलाई देख्नासाथ ती व्यापारी आत्तिए । उनले सोधे– मैले ईश्वरसामु भनेका कुरा तिमीले त सुनेनौ नि ? टल्सटोयले मुसुक्क मुस्कुराउँदै जवाफ दिए– सुन्न त मैले तपाईंका सबै कुरा सुनेँ । तर, तपाईंको स्वीकारोक्ति मलाई असाध्यै मन पर्यो । आखिर अपराध स्विकार्नु महान् कर्म पनि त हो नि !
व्यापारीले भने– त्यो त ठिक छ, तर तिमीले यी कुरा कसैलाई नबताउनू नि ! यो मेरो र भगवान्बिचको मात्र कुरा हो । म यी कुरा संसारलाई होइन, केवल भगवान्लाई सुनाउन चाहन्थेँ । तिमीले यी कुरा अरूलाई सुनायौ भने राम्रो हुनेछैन बुझ्यौ ? उनको धम्की सुनेर टल्सटोय छक्क परे । उनले व्यापारीलाई प्रश्न गरे– तपाईं भर्खरै त भन्दै हुनुहुन्थ्यो ... । उनको भनाइ बिचमै काट्दै व्यापारीले भने– हो, मैले जे भनेँ, त्यो भगवान्का लागि मात्र हो, संसारका लागि होइन । टल्सटोयले मनमनै सोचे– यो संसार कति मूर्ख छ । भगवान्सित भन्दा मानिससित डराउँछ । समाजसामु गल्ती स्विकार्न नसक्ने मानिसले कसरी भगवान्सामु गल्ती स्विकार्ला ?