
झापा गाउँपालिका– १ लसुनाका ६० वर्षीय जतन सोरेनको परिवार र गाउँलेले हत्या गरेका छन् । २७ वर्षीय छोरा अनतलालसहित छिमेकीले रातभर रुखमा बाँधेर उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोरेनलाई मंगलबार राति साढे १० बजे छिमेकीले आँपको रुखमा बाँधेका थिए । बिहान ४ बजे हेर्दा उनको मृत्यु भइसकेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताए । मदिरा सेवन गरेका सोरेन छिमेकी महादेव टुडुको घरनजिकै गल्लीमा पुगेर काँप्न थालेका थिए । काँप्न थालेपछि टुडुको घरछेउमा रहेको आँपको रुखमा स्थानीयले डोरीले बाँधेर रातभर राखेको र त्यही कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोरेनलाई बाँधेर हत्या गरेको आरोपमा प्रहरीले उनका छोरा अनतलाल, ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखीराम टुडू र २१ वर्षीय लखीराम टुडूलाई पक्राउ गरेको छ । घटनामा अन्यको पनि संलग्नता हुन सक्ने खड्काको भनाइ छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
‘जतनकी श्रीमतीको एक महिनाअघि निधन भएको रहेछ । केही समयदेखि उनी सधैँ मादक पदार्थ खाएर आउने र यसरी नै काँप्ने गर्दा रहेछन् । त्यही कारण सुधार्न रुखमा बाँधेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ प्रवक्ता खड्काले भने, ‘त्यहाँ देख्ने साक्षी वा घटनामा संलग्न अरू पनि हुन सक्छन् । त्यसमा पनि हामीले अनुसन्धान गरिरहेका छौँ । अहिले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र कसरी अघि बढ्ने भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।’