नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ का मतदाताले आफूलाई सरकारको नम्बर वान बनेको हेर्न चाहेको बताएका छन्। सोमबार बिहान काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ को घरदैलो कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्बर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्,’ सिंहले भने, ‘जनताको चाहना पूरा गर्न प्रयासरत छु।’ आफूले क्षेत्र नम्बर १ मा धेरै विकासका काम गरेको भन्दै उनले फेरि निर्वाचित भए बाँकी काम पूरा गर्ने प्रतिबद्धता गरे।
अहिलेको अर्थतन्त्रको संकट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायित्व रहने उल्लेख गर्दै उनले त्यसका लागि आफूले पहल गर्ने बताए। विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै उनले अब आफ्नो सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन केन्द्रित हुने बताए।