मानेले विश्वकप गुमाउने

सेनेगलका मुख्य स्ट्राइकर साडियो माने चोटका कारण कतार विश्वकपअघि फिट नहुने

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

सेनेगलका स्टार खेलाडी साडिओ मानेले कतार विश्वकप फुटबल प्रतियोगिता गुमाउने भएका छन् । बुधबार राति बुन्डेस लिगा खेल्ने क्रममा मानेले घुँडाको चोट बोकेका हुन् । बायर्न म्युनिखले वार्डन ब्रेमनलाई ६–१ अन्तरले पराजित गर्दा मानेले खेलको २०औँ मिनेटमा चोट बोकेका थिए । माने विश्वकप सुरु हुन दुई हप्ता पनि बाँकी नरहँदा फिट हुन नसक्ने अनुमान गरिएको छ । 

यससँगै, अफ्रिका कप च्याम्पियन सेनेगललाई ठूलो झट्का लागेको छ । सेनेगलले विश्वकपको समूह चरणमा नेदरल्यान्ड्स, इक्वेडर र आयोजक कतारसँग खेल्नेछ । ‘माने केही हप्ता मैदानबाहिर हुनेछन्,’ सेनेगल प्रशिक्षक अलिओउ सिसेले भने । टोलीकै मुख्य खेलाडी बाहिर रहँदा सेनेगलका प्रशिक्षक सिसेलाई टाउको दुखाइ बनेको छ । प्रशिक्षक सिसे यसै साता विश्वकप खेल्ने खेलाडीको नाम सार्वजनिक गर्दै छन् । 

चाँडै फर्कने विश्वास
यसैबीच, बायर्नका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले मानेको चोट ठूलो नभएको र एक्स–रे रिपोर्टको प्रतीक्षामा रहेको बताएका छन् । ‘घाउ त्यति गम्भीर छैन, मलाई विश्वास छ माने छिटै मैदानमा फर्कनेछन्,’ जुलियनले भने, ‘खेलपछि मैले उनको अवस्था हेरेको छैन । माने मैदानबाट बाहिरिएपछि नागेल्सम्यानले लिरोए सानेलाई २८औँ मिनेटमा मैदान पठाएका थिए । सेनेगलका लागि मानेले ९३ क्याप जितेका छन् । उनले सेनेगलका लागि ३४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । मानेको उत्कृष्ट प्रदर्शनमा यसै वर्ष सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । फाइनल खेलमा सेनेगलले इजिप्टलाई पेनाल्टीमा हराएको थियो । प्रतियोगितामा मानेले चार गोल गरेका थिए ।

सुझावित समाचार