बिहीबार संकल्पले बानेश्वरमा ‘महिला जिताउँ अभियान’ अन्तर्गत ‘संघ र प्रदेशका महिला उम्मेद्वारसँग चुनावी बहस’को कार्यक्रम आयोजना गर्यो। चुनाव नजिकिँदै गएकाले होला मुलधारका राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने महिलाको संख्या अत्यन्तै न्युन थियो । तर, जति सहभागी महिला उम्मेदवार थिए उनीहरुले आफूले जित्ने दाबी गरे । महिलाहरु समानुपातिकमा मात्रै सुरक्षित हुन खोज्ने तर मैदानमा लड्न तयार नहुने विषयमा बहस केन्द्रित भयो । त्यति मात्रै होइन महिलाका लागि उम्मेदवार बन्दा आर्थिक समस्या मुख्य चुनौति भएको विषयमा सबैको ध्यान केन्द्रित थियो ।
कार्यक्रमममा बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी नेतृ कल्पना धमलाले महिलाहरुले अब प्रत्यक्षमा चुनाव लड्ने आँट गर्नुपर्ने बताइन् । भनिन् ‘महिलाहरुलाई राजनीतिमा टिक्न असाध्यै गाह्रो छ । हामीलाई यो वा त्यो बहानामा पछि पार्ने काम भइरहेको छ । यी बिचरा भनेर हामीलाई समानुपातिकको सीमित घेरामा राख्न खोजिएको छ । त्यसैले हामीले समानुपातिकको आश मात्रै होइन, प्रत्यक्षमा लड्ने साहास गर्नुपर्छ ।’
संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागीताको कुरालाई महिला उम्मेदवारको संख्या ९ प्रतिशतमा झर्दा पनि तपाईं किन मौन हुनुहुन्छ ? कि आफूले पाइहालेँ अरु जेसुुकै होउन् भन्ने सोच्नु भो ? होइन भने ३३ प्रतिशत महिला सहभागीता नभइ म पनि उम्मेदवार बन्दिन भन्न पार्टीभित्र किन सक्नुभएन ? भन्ने पत्रकारको प्रश्नमा धमलाले भनिन् ‘यदि त्यसो भन्ने हो भने महिलाको संख्या ९ बाट शून्यमा झर्ने डर थियो । पुरुषहरुले हामीलाई यति सजिलै छोड्नेवाला छैनन् । कमसेकम जति उम्मेदवार बनेका छौं त्यसलाई सान्दार तरिकाले जित हाँसिल गर्नुपर्छ र संसदमा महिलाका मुद्दाहरुलाई जोडदारका साथ उठाउनुपर्छ भनेर हामीले यसमा चित्त बुझाएका हौँ । उनले आफूले काठमाडौं क्षेत्र नम्बर ९ मा आर्थिक चलखेर नभए सान्दारका साथ विजयी हुने दाबी समेत गरिन् ।
त्यस्तै नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ६ को ‘ख’ बाट उम्मेदवार बनेकी हरिप्रभा खड्गीले आफूले निर्वाचन जित्ने र बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दाबी गरिन् । भनिन् ‘हजारौं बाधा र अफ्ठ्याराहरुलाई झेल्दै महिलाहरु राजनीतिको मुलधारमा आउनु चानचुने कुरा होइन । अझ नेतृत्वमा पुग्नु भनेको फलामका धेरै चिउरा चपाउनु सरह हो । हामीलाई आर्थिक अभावको डर देखाउँदै पुरुषहरुले नेतृत्वमा लडिबुडि गरिरहेका छन् । अब हामीले आर्थिक रुपमा सबल बन्दै राजनीतिमा अब्बल बन्नुपर्छ ।’
घरखेत बेचेर पनि म उम्मेदवार बन्न सक्छु भन्ने पुरुष उम्मेदवारको अघि हामीले पनि यो माध्यामबाट मैले उम्मेदवार बन्न सक्छु भनेर आर्थिक पाटो देखाउन सक्ने हैसियत बनाउनुपर्नेमा उनले जोड दिइन् । भनिन् ‘त्यसको लागि अंशमा बराबरी हकको लागि म लड्नेछु । ’
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर २ मा उम्मेदवार बनेकी सविता गौतमले महिला र युवाहरुको मुद्दालाई संसदमा बहस गर्न सक्ने योग्य उम्मेदवार आफू भएकाले आफ्नो जित सुनिश्चत भएको दाबी गरिन् । भनिन् ‘वर्षौँदेखि युवाहरु देशमा भविष्य नदेखेर विदेश पलायन हुनु परेको छ । युवाहरुहरुलाई नेपालमै बस्ने वातावरण बनाउन मैले ‘पार्ट टाइम जव’ को कन्सेप्ट ल्याएको छु । मैले निर्वाचन जिते भने यसलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गरी युवाहरुलाई देशमै बस्ने वातावरण मिलाउनेछु । युवा पलायनले देश बन्ने होइन, युवा देशमा रहे मात्र देश बन्नेछ । ’
लामो रस्साकस्सीपछि आफ्नो उम्मेदवारी कायम गराउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार बनेकी डा. तोसिमा कार्कीले राजनीतिमा महिला उम्मेदवारविरुद्ध केकस्ता हर्कत हुन्छन् भन्ने कुराको प्रमाण बोकेर आफू मैदानमा पुनः उभिन सकेको बताइन् । भनिन् ‘राजनीतिमा महिलाविरुद्ध साम दाम दण्डभेद सबै प्रयोग हुँदो रहिछ त्यसको सिकार म भएँ । अरु कति जना हुनुहोला ? राजनीतिक दलको बलमिच्याइलाई अदालतले धकेलिदिएका कारण म पुनः उम्मेदवार बनेर आउन पाएँ । मेरो जित सुनिश्चित छ । ’
त्यस्तै ललितपुर क्षेत्र नम्बर ३ प्रदेश ‘क’ बाट स्वतन्त्र उम्मेदवार बनेकी सबिता महर्जनले ठूला राजनीतिक दलहरु यतिबेला पैसाको बिटो बोकेर मतदाता भएको ठाउँमा पुगिसकेको बताइन । लालटिन चुनाव चिन्ह्र लिएर चुनावी मैदानमा एक्लै होमिएकी महर्जन एकल महिला हुन् । उनले एकल महिलाले समाजमा भोग्नु परेको समस्यालाई हल गर्नको लागि आफू उम्मेदवार बनेको बताउँदै आफूले पनि जित्ने दाबी गरिन् । तर, उनलाई एउटै कुराको चिन्ता छ भोट पैसाले किनिनेमा । भन्छिन् –चुनाव भनेको पैसाको खेल रहेछ । अहिले गाउँगाउँमा चुनावी भोज र भोटका लागि दामको खोलो बगिसकेको छ । तर, पनि आम नागरिक सचेत भइसकेका छन् । पैसाले मात्रै चुनाव जितिँदैन भन्ने कुरा यो पटकको चुनावमा मतदाताले देखाइदिनेछन्। ’