नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई नेपालले मात्र नभई विश्वले नै चिनेको दाबी गरेका छन्। उनको गृहनगर दमकमा भएको सभालाई सम्बोधन गर्दै ओलीले आफूलाई झापा– ५ का मतदाताले मात्र नभई देश र विश्वले चिनेको बताएका हुन्।
‘यो क्षेत्रका जनताले मात्र हैन नेपालभरिकै र विश्वले नै नेकपा एमाले के हो? र, तपाईंहरूले छानेर पठाएको प्रतिनिधिले देखिसकेको छ, बुझिसकेको छ,’ ओलीले भने।
अध्यक्ष ओलीले यसपटकको निर्वाचन सामान्य निर्वाचन मात्र नभई देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको बताए। उनले देशको स्वधीनताको रक्षा गर्न एमालेले जित्नुपर्ने बताए।
‘यसपटकको निर्वाचन देशको भाग्य भविष्यको फैसला गर्ने निर्वाचन हो। विदेशीको कठपुतली सरकार बनाउने कि स्वधीनता रक्षाको सरकार बनाउने भन्ने फैसला गर्ने निर्वाचन हो। यो सरकार खान जन्मिएको भ्रष्ट सरकार हो। यसले देशलाई ओरालो लगाएको छ,’ उनले भने, ‘यो सरकारबाट देशलाई मुक्त गराउन! यो सरकारको पीडा र ऐँठनबाट देशलाई पार लगाउन अबको निर्वाचनले फैसला गर्नुछ। अहिले त देश ऐँठनमा गएको छ। अर्थतन्त्र ध्वस्त भएको छ।’
उनले यो निर्वाचनमा राष्ट्रवादी शक्ति देश विकासका लागि एकातर्फ उभिएको बताए। विदेशीको हस्तक्षेप रोक्न बलियो देशभक्त र राष्ट्रवादी शक्ति एकातर्फ उभिएको बताए।
‘गठबन्धन–सठबन्धन हैन बलियो राष्ट्रिय शक्ति निर्माणमा राष्ट्रिय राजनीति जाँदै छ,’ उनले भने, ‘त्यसकारण अहिले देशभक्त शक्ति एकातिर छ। सर्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको पक्षधर रहेका शक्ति एकतिर र ठीकविपरीत शक्ति अर्कोतिर छन्। उनीहरू भष्ट्र र देश बरबाद पार्ने तत्वहरू हुन्।’
उनले गठबन्धन सरकार संविधानबाट नभई संविधानबाहिरबाट बनेको आरोप लगाए। ‘गठबन्धन सरकार संविधानबाट बनेको हैन। संविधानबाट त संसदबाट बन्छ। यो लोकतान्त्रिक बाटोबाट पनि बनेको हैन। यो संसदबाट बनेन,’ उनले भने, ‘यो त बलजफ्तीबाट बन्यो। जनादेशबाट बनेन, परमादेशबाट बन्यो। सहज ढंगले हैन सेटिङबाट बन्यो।’
उनले दुनियाँ लागेर एमालेलाई घेरेर प्रतिगमन गरेको बताए। उनले आउँदो निर्वाचनसम्म मात्र एमालेलाई सरकारबाट हटाएको दाबी गरे। यस्तै, ओलीले पूर्व-पश्चिम रेलमार्गको मुआब्जामा देखिएको समस्या समाधान ४ मंसिरपछि हुने दाबी गरेका छन्। उनले समस्याको समाधान गर्न आफूले भनिसकेको बताए।
‘मंसिर ४ पछि मुआब्जाको समस्या समाधान गरिन्छ। सरोकार नभएको र रेल्वेमा नपरेको किसानको जमिन रोकेर राख्नु उचित हैन,’ ओलीले भने, ‘त्यो रेलवे प्रशासनको कमजोरी हो कहाँ कमजोरी छ हटाउनुपर्छ। त्यो समस्याको समाधान हुन्छ।’ उनले रेलमार्ग बने सस्तोमा महाकाली पुगिने बताए।
‘यहाँबाट पतलैया पुग्छौँ। त्यहाँबाट दक्षिण लागे भारत पुग्छौँ,’ उनले भने, ‘उत्तर लाग्योँ भने काठमाडौं, ल्हासा, चीन पुग्छौँ। अब केही वर्ष लाग्छ।’ उनले रेलका कुरा गर्दा कांग्रेसले उडाएको बताउँदै अहिले घोषणापत्रमा त्यही कुरा छापेको बताए।