ग्लेसियरमा खसेको हिमपहिरोले गेग्य्रान सोहोरेर खोला थुन्दा बुढीगण्डकी नदीमा गत आइतबार आकस्मिक बाढी आएको प्राविधिक अध्ययनले पुष्टि गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत अध्ययन र सेटेलाइट तस्बिर अध्ययन गरेर बाढी निम्तिनुमा एउटै मात्र नभई बहुकारण रहेको बताएको छ ।
प्राधिकरणका भूगर्भविद् डा. प्रकाश पोख्रेलले सुरुमा हिमपहिरो ग्लेसियर (हिउँ, बरफ र गेग्य्रान)मा खसेको र उङदिलुङसँगै स्यारखोलाको दोभान थुनेको बताए । ‘सुरुमा हिमपहिरो खसेको देखिन्छ । ग्लेसियरमा हिमपहिरो खसेपछि त्यहाँको हिउँ, बरफ पग्लियो । गेग्य्रान सोहेरेर खोलामा खसेको देखिन्छ । त्यसपछि खोला थुनिने र खुल्ने प्रक्रिया भएको देखिन्छ,’ पोख्रेलले भने, ‘हिमपहिरो खस्नुमा बहुकारण हुन सक्छन् । तापक्रम बढ्नु, कमजोर भूगोल, जलवायु परिवर्तन जोडिएका हुन सक्छन्, त्यो अध्ययनको विषय छ ।’
गोरखाको चुमनुब्री गाउँपालिका– ६ स्थित उङदिलुङ खोला (चामर हिमाल र स्येराङ्दी हिमाल)बिचको ठाडो खोलाको उच्च हिमाली क्षेत्रमा गत आइतबार बिहान ४:२० बजे पहिरो खसेको थियो । ‘कमजोर चट्टानबाट करिब ६ हजार मिटरको उचाइमा हिमपहिरो तथा करिब पाँच हजार पाँच सय मिटरको उचाइमा रहेका ग्लेसियर (हिउँ तथा गेग्य्रान)सहितको ठुलो पहिरो सिर्जना भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘हिउँ, पानी तथा गेग्य्रान मिश्रित पहिरो उङदिलुङ खोला सिरानबाट दक्षिणतर्फ बगेको र उक्त ठाडो खोलाको दुवै किनारातर्फ करिब तीन सय मिटर माथिसम्म बग्दै करिब दुई हजार मिटरको उचाइमा रहेको उङदिलुङ खोला र स्यार खोलाको साँघुरो दोभानमा धेरै मात्रामा एकैपटक गेग्य्रान जम्मा हुँदा स्यारखोलाको पानीको बहाब अवरुद्ध हुने र खुल्ने प्रक्रिया भएको देखिन्छ ।’
नदीको बहाब थुनिने–खुल्ने प्रक्रिया स्यार खोला र बुढीगण्डकी नदीको दोभानमा समेत भएको हुन सक्ने पोख्रेलले बताए । ठुलो पहिरो सिर्जना हुनुअघि तथा त्यसपछि समेत सो क्षेत्रमा केही साना–साना पहिरो गएको देखिन्छ । बाढीको सतह सिर्जना हुनुमा स्यार खोला थुनिएर जम्मा भएको पानीभन्दा उङदिलुङ खोलाबाट आएको ठुलो परिमाणको गेग्य्रानको भूमिका उल्लेखनीय रहेको प्रतिवेदनमा उल्लेख छ ।
बाढी बिहान ४:३० बजे सल्लेरी पुगेको पाइएको छ भने सबैभन्दा ठुलो सतह करिब २०–२५ मिटर रहेको देखिन्छ । बाढीले बिहान साढे ६ बजे सल्लेरीमा रहेको हाइड्रोपावर क्याम्प बगाएको थियो । ‘ठुलो बाढीका कारण तल्लो क्षेत्रमा विशेषगरी जगतमा केही भवन तथा सोती खोला र बुढीगण्डकीमा रहेका पक्की पुललगायतका संरचनामा मुख्य क्षति पुगेको देखिन्छ ।
बालुवा र साना–ठुला ढुंगाको तुलनामा माटो बढी भएकाले बाढी सामान्य पानीको बहाबजस्तो नभई बाक्लो लेदोसहित बिस्तारै बग्ने प्रवाहमा परिणत भएको थियो । प्राविधिक भाषामा यस्तो प्रवाहलाई ‘भिस्कस मड फ्लो’ भनिन्छ । घटनाको उद्गमस्थलमा रहेका पत्रे चट्टान तथा गेग्य्रानमा माटोको मात्रा तुलनात्मक रूपमा बढी हुनु यसको प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलनअनुसार उक्त पहिरोका कारण करिब ३.५ म्याग्निच्युडको भूकम्पबराबरको शक्ति उत्पन्न भएको देखिएको छ ।