मंगलबार १० बजेसम्मका प्रमुख १० खबर

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिमको बजेट पारित, मंसिरमा पूरक बजेट ल्याइने

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट प्रदेश सभाबाट पारित भएको छ । प्रतिपक्षी दलको बहिष्कारकाबिच मंगलबार बेलुकी बसेको प्रदेश सभा बैठकले बजेट पारित गरेको हो ।

सत्ता पक्षमै ब्यापक आलोचित बनेको बजेटमाथि अध्ययन गर्नका लागि प्रदेश सभाले संसदीय समिति गठन गरेको छ भने आगामी मंसिरभित्र पूरक बजेट ल्याइने भएको छ । 

सभामुख भीमबहादुर भण्डारीले बजेटमाथि अध्ययन गर्नका लागि प्रदेश सभामा रहेका दलहरुको प्रतिनिधित्व रहने गरी सात सदस्यीय संसदीय समिति गठन गरिएको र उक्त समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याइने जानकारी सभालाई गराएका छन् ।

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

 

शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवा प्रक्रियामा फेरबदल गरिएको छ। 

'शिक्षा (११ औँ संशोधन) नियमावली, २०८३' ले मूल नियमावलीको नियम ९९ मा संशोधन गर्दै शिक्षक सरुवाका नियमहरूलाई फेरबदल गर्न लागिएको हो। 

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवाका लागि निवेदन दिन सक्नेछन्।

विशेष अवस्थाबाहेकका साधारण स्थायी शिक्षकहरूको हकमा यसअघि राखिएको तीनवर्षे अवधि घटाएर अब एक वर्ष सेवा अवधि पूरा भएपछि नै सरुवा गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ। 

मादकपदार्थ सेवन गरी सवारी चलाउने नौचालक पक्राउ

मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने नौचालक पक्राउ परेका छन् । २५ असोजदेखि २७ असोजसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकजाँचमा एक सय ४९ चालकलाई मापसेमा कारबाहीमा परेका हुन्।

त्यसमध्ये नौजना सार्वजनिक यातायातका चालक भएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए। सार्वजनिक यातायातका चालकलाई पक्राउ गरी मुद्दा चलाउने गरिएको छ। 

भूमिसम्बन्धी अध्यादेशः सुकमवासीलाई जग्गा वितरणको कानुनी अड्चन हट्यो

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले गत साता यससम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पठाएको थियो । 

अध्यादेशले वन, मध्यवर्ती क्षेत्र तथा आरक्ष क्षेत्रसम्बन्धी कानुनका प्रावधानका कारण समाधान हुन नसकेका भूमिहीनका समस्या समाधान गर्न सम्बन्धित ऐनहरूमा समेत छुट्टै अध्यादेशमार्फत आवश्यक व्यवस्था गरिएको भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले जानकारी दिइन् । अध्यादेशले भूमिहीन दलित, भूमिहीन सुकुमवासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधानका कानुनी अड्चन हटेको उनको भनाइ छ । अब तीव्र रूपमा कार्यान्वयन अघि बढाइने बताउँदै उनले सबैको सहयोगको अपेक्षा गरेकी छिन्। 

ओमानविरुद्ध नेपाल ११३ रनले विजयी

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल विजयी भएको छ। अल अमिरात मैदानमा नेपालले घरेलु टोलीलाई ११३ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर १६३ रनको योगफल तयार गरेको थियो। ४० ओभरमा अलआउट भएको ओमानले १५० रन मात्रै जोड्न सक्यो।

नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन जोडेका थिए। ५० बल सामना गरेका उनले तीन छक्का प्रहार गरे। करण केसीले मात्र १६ बलमा ४० रनको योगदान गरे। एक छक्का र चार चौका प्रहार गरेका उनी रनआउट भएका थिए।

राष्ट्रपतिले जारी गरे वन र भूमिसम्बन्धी दुई अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मंगलबार दुवै अध्यादेश जारी गरेका हुन्।

वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

 नेपाली कांग्रेसको सहमहामन्त्री(खुलातर्फ)मा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्। 

१५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा खतिवडा दुई हजार ९१९ र सिवाकोटी दुई हजार १७२ मत प्राप्त गरेर निर्वाचित भएका हुन्। खुलातर्फ सहमहामन्त्रीमा नौजनाले प्रतिस्पर्धामा थिए। 

तेस्रो भएका डिल्लीराम सुवेदीले एक हजार ८५१ मत पाए। त्यस्तै, देवेन्द्रराज कँडेलले एक हजार ३८२, राजीव ढुंगानाले एक हजार २४१, विकास कोइरालाले एक हजार १४९, अमृतकुमार अर्यालले एक हजार ३९, रमेशप्रसाद भुसालले ८२१ र विमलराज क्षेत्रीले २८२ मत प्राप्त गरेका छन्। 

मुख्यमन्त्रीहरूले भने- प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन

 मुख्यमन्त्रीहरूले प्रदेशविनाको संघीयता कल्पना गर्न नसकिने बताएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा मंगलबारदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको संयुक्त उद्घाटन गर्दै मुख्यमन्त्रीहरूले प्रदेशविनाको संघीयताको कुनै अर्थ नहुने बताएका हुन्।

कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त रूपमा उद्घाटन गर्दै संघीय सरकारले संविधानमा उल्लेख भएका एकल र साझा अधिकार दिन कञ्जुस्याइँ गर्दा प्रदेशले अपेक्षाकृत काम गर्न नसकेको बताए। प्रदेश बलियो नभएसम्म संघीयता बलियो नहुने र समृद्धि पनि हासिल नहुने उनीहरूको धारणा छ।

सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको छ।

सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनका विषयमा उठाइएका गम्भीर प्रश्नहरूप्रति रास्वपाकाे गम्भीर ध्यानाकर्षण भएको महामन्त्री विपिनकुमार आचार्यले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

‘सञ्चारमाध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन। महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको तथ्य हामी पुनः स्पष्ट पार्न चाहन्छौँ।’

दसैँअघि नै आरुघाट पुल सञ्चालनमा ल्याउने लक्ष्य, बेलिब्रिज जडान सुरु

बुढीगण्डकी नदीमा आएको बाढीले क्षतिग्रस्त गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल पुनः सञ्चालनमा ल्याउन बेलिब्रिज जडानको काम सुरु गरिएको छ । दसैँअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले कामलाई तीव्रता दिएको हो ।

आइतबार बिहान आएको बाढीले पुलको तीन खण्डमध्ये गोरखातर्फको २२ मिटर लामो आरसिसी भाग बगाएको थियो । बाढीले पुलको एक भागमा क्षति पुर्याए पनि ट्रस संरचना भने बाँकी रहेको छ ।

 

 

सुझावित समाचार