करिब ६ ग्राम खैरो हिरोइनसहित दुईजना पक्राउ

शनिबार, १२ कार्तिक, २०७९
डिजिटल संस्करण

बाँके प्रहरीले जमुनाह नाकाबाट करिब ६ ग्राम खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालको नेतृत्व टोलीले करिब ६ ग्राम खैरो हिरोइनसहित दुईजनालाई शनिबार दिउँसो पक्राउ गरेको हो।

सीमावर्ती बजार रुपैडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेका खजुरा गाउँपालिका ७ गुनानाका ३२ वर्षीय लोटा तेलीको साथबाट एक ग्राम ५०० मिलिग्राम खैरो हिरोइन बरामद गरेको रिजालले जानकारी दिए। तेलीले जिन्स पाइन्टको दायाँ खल्तीमा लुकाइछिपाई ल्याउने क्रममा चेकजाँच गर्दा लागुपदार्थ फेला परेको रिजालले बताए। 

त्यसैगरी, बबई गाउँपालिका- ५ हापुरे, दाङका २५ वर्षीय छविराम ओली पनि लागुऔषधसहित पक्राउ परेका छन्। चार ग्राम लागुऔषध खैरो हिरोइन जुत्ताको मोजाभित्र लुकाएर ल्याउँदै गर्दा ओली पक्राउ परेको रिजालले बताए। पक्राउ परेका दुवैजनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ। 
 

सुझावित समाचार