भंगाहामा लगाइएको कर्फ्यु हट्यो

शुक्रबार, ११ कार्तिक, २०७९
डिजिटल संस्करण

महोत्तरीको भंगाहा नगरपालिका– ८ पररिया टोलमा भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाउने निर्णय भएको छ। 
जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज एक सूचना जारी गरी आजै राति १० बजेबाट कर्फ्यु हटाइएको जनाएको हो। 

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जारी गरेको सूचनामा भनिएको छ, ‘शान्ति सुरक्षा कायम गर्न सो क्षेत्रमा कात्तिक १० गते ४ बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश गरिएकोमा हाल शान्ति सुरक्षाको स्थितिमा सुधार आई सामान्यीकरण भएको देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६क को उपदफा ५ बमोजिम कात्तिक ११ गते राति १० बजेदेखि लागू हुने गरी कर्फ्यु हटाइएको छ।’

यसअघि गृह मन्त्रालयले आजै घटनाको छानबिन गर्न सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन्।

यस्तै, आजै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैले आआफ्नो ठाउँबाट पहल गर्ने निर्णय गरेको थियो। 

भंगाहा– ८ को पररिया टोलमा हिजो सामाजिक सद्भाव बिथोलिने गरी दुई पक्षबीच झडप भएको थियो। झडपमा १५ जनाभन्दा धेरै घाइते भएपछि दिउँसो ३ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

See More On

सुझावित समाचार