निर्वाचन आचारसंहिताविपरीत दल र उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको विषयमा निर्वाचन आयोगले अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक तिलक कुँवरसँग स्पष्टीकरण मागेको छ।
प्रधानाध्यापक कुँवर एमालेको चुनाव प्रचारमा संलग्न भएको भन्दै आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। आयोगले यसअघि नै आचारसंहिताविपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षकलगायतलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइसकेको छ।
निर्वाचन आचारसंहिता, २०७९ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तर्क्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने व्यवस्था छ।