कांग्रेसलाई ‘बागी’को चेतावनी- राष्ट्रिय राजनीति ‘गिरोह’को हातमा छाडिँदैन, चितवनले विद्रोह गर्छ

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

चितवन ३ बाट संघीय संसद्का लागि बागी उम्मेदवारी दिएका कांग्रेस नेता दिनेश कोइरालाले केही परिवारको गिरोहले देशमा शासन गरिरहेको आरोप लगाएका छन्। 

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले देशमा अहिले कांग्रेसको काखमा बसेर माओवादी तथा साना पार्टीहरूको शासन भएजस्तो देखिए पनि  केही परिवारको गिरोहले देशमा शासन गरिरहेको दाबी गरेका हुन्। 

उनले विज्ञप्तिमा लेखेका छन्, ‘झट्ट हेर्दा दलीय शासन नै चलिरहेस्तो भान हुन्छ । तर, वास्तविकता सबैले बुझेका छन्, वास्तविकता के हो भने केही परिवारको गिरोहले देशमा शासन गरिरहेको छ। उनीहरूलाई देशको मतलब छैन, जनताको मतलब छैन, विकास र समृद्धिसँग वास्तै छैन। उनीहरूलाई परिवार र नातागोताको मात्र चिन्ता छ।’

उनले पिँजडाको सुगा बनाइएको लोकतन्त्रलाई जनताको घरआँगनमा पुर्याउन आफूले विद्रोह गरेकाे बताए। ‘केही परिवारका लागि लोकतन्त्र हुने, बाँकीले दास बन्नुपर्ने विकृत प्रथा मान्न कुनै हालतमा सकिँदैन। यसैका विरुद्ध हामीले शान्तिपूर्ण र रचनात्मक क्रान्ति थालनी गरेका हौँ। यही क्रममा उम्मेदवारी पनि दिएका हौँ,’ उनले भनेका छन्।  

कोइरालाले अब राष्ट्रिय राजनीतिमा चितवनले हस्तक्षेप गर्ने दाबी गरे। उनले भने, ‘अब राष्ट्रिय राजनीति पहिलेजस्तो हुँदैन। अब राष्ट्रिय राजनीतिलाई केही गिरोहको हातमा छाड्न सकिँदैन। अब कांग्रेसलाई भत्काउन दिइँदैन। अब सशक्त हस्तक्षेप गरिन्छ। यहीँ हस्तक्षेपका लागि उम्मेदवारी हो।’

.....................

अहिले कांग्रेसको शासन छ। कांग्रेसको काखमा बसेर माओवादी तथा साना पार्टीहरुको शासन छ। झट्ट हेर्दा दलीय शासन नै चलिरहेजस्तो भान हुन्छ। 

तर, वास्तविकता सबैले बुझेका छन्, वास्तविकता के हो भने केही परिवारको गिरोहले देशमा शासन गरिरहेको छ। उनीहरूलाई देशको मतलब छैन, जनताको मतलब छैन, विकास र समृद्धिसँग वास्तै छैन। उनीहरूलाई परिवार र नातागोताको मात्र चिन्ता छ । आफ्नो परिवारले कसरी पार्टी र देश कब्जा गर्ने भन्नेमा उनीहरूको ध्यान छ। यस अर्थमा आज लोकतन्त्रलाई पिँजडाको सुगा बनाइएको छ।

अब लोकतन्त्रलाई जनताको घरआँगनमा पुर्याइनेछ, केही परिवारका लागि लोकतन्त्र हुने, बाँकीले दास बन्नुपर्ने विकृत प्रथा मान्न कुनै हालतमा सकिँदैन। यसैका विरुद्ध हामीले शान्तिपूर्ण र रचनात्मक क्रान्ति थालनी गरेका हौँ । यही क्रममा उम्मेदवारी पनि दिएका हौँ । 

अब राष्ट्रिय राजनीतिमा चितवनले हस्तक्षेप गर्छ। अब राष्ट्रिय राजनीति पहिलेजस्तो हुँदैन। अब राष्ट्रिय राजनीतिलाई केही गिरोहको हातमा छाड्न सकिँदैन। अब नेपाली कांग्रेसलाई भत्काउन दिइँदैन। अब शशक्त हस्तक्षेप गरिन्छ। यही हस्तक्षेपका लागि उम्मेदवारी हो। 

हिजो हजारौँ मान्छे मारेर क्रान्ति गरेको भन्दै भ्रम फैलाए। उनीहरूले कथित क्रान्तिको आवरणमा परिवार पोसे, देश लुटे, देश र समाज भत्काए, जनतालाई रुवाए । अब यस्तो हुन दिइनेछैन। 

संसद्लाई अब विकृति र लुटको अखडा बनाउन दिइनेछैन । संसद्लाई नातागोता भर्ती केन्द्र बनाउन दिइनेछैन । अब खुलेआम र सशक्त हस्तक्षेप गरिनेछ । यसको अगुवाइ चितवनका जनताले गर्नेछन्, विशेषगरी क्षेत्र नम्बर ३ का जनताले गर्नेछन्। 

यही चुनावमार्फत हामी खुलेआम चुनौती दिन्छौँ, नेपाली कांग्रेस कसैको निजी पार्टी होइन । नेपाली कांग्रेसलाई प्रालि अर्थात् प्राइभेट लिमिटेड बनाउन खोजिएको छ । कांग्रेसलाई गिरोहहरूले कब्जा गरेका छन् । अब कांग्रेसलाई गिरोहमुक्त बनाउन परेको छ। कांग्रेसलाई अब माओवादीको भ्रातृ संगठनजस्तो बनाउन दिइनेछैन। 

नेपाली राजनीतिलाई शुद्धीकरण नगर्ने हो भने अब एक थान सांसद चुनेर मात्र देशको समस्या हल हुँदैन, विकास हुँदैन । हामीले वर्षौँदेखि सांसद चुनेर पठायौँ, तर खोइ भयो समाधान ?

संसदमा गएर मन्त्री, प्रधानमन्त्री बन्ने खालका पात्र हामीले पठायौँ, नेपाली राजनीतिका समस्या हल गर्ने पात्र पठायौँ । हामीले केही बाटो या पुल बनाउने खालका पात्र खोज्यौँ, तर देश र जनताको भविष्य बनाउने पात्र खोजेनौँ । 

यो देश कसैको पेवा होइन, कोही व्यक्तिले विकास ल्याइदिँदा विकास हुने नत्र नहुने कस्तो परिपाटी बनाउँदैछौँ हामी ? यो देशको बजेट कुनै परिवारको निजी हो ? केही परिवारले बजेट दिँदा कुनै ठाउँले विकास पाउने नत्र नपाउने कस्तो तानाशाही प्रणाली हामीले विकास गरिरहेका छौं ? हो, यस्तो विकृति र विसंगतिविरुद्ध अब चितवन जागेको छ।

चितवन उठेको छ, चितवन जागेको छ, चितवन अब अगाडि बढ्छ । चितवनबाट हामी अब काठमाडौंमा हस्तक्षेप गर्छौँ । अब यो देशलाई चितवनका जनताले पहिले जसरी चल्न दिनेछैनन्। 

हामीले जुन उम्मेदवारी दिएका छौँ, त्यसमा मतदाता र चितवनका आम जनताको साथ र समर्थन मंसिर ४ को मतदानका वेलासम्मका लागि मात्र हुनुहुँदैन। त्यसपछि संसदमा हामी भीषण हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछौँ, यो देशको सम्पूर्ण विकृति–विसंगतिमाथि ठाडो हमला गर्नेछौँ । हामी शान्तिपूर्ण र रचनात्मक क्रान्ति गर्न गइरहेका छौँ।

संसदमा हामीले गर्ने भीषण वैचारिक हमलामा चितवनका जनताले अहिलेभन्दा धेरै साथ दिन जरुरी छ । मंसिर ४ पछि पनि निरन्तर साथ दिइरहन चितवनका जनता तथा समस्त नेपाली जनतासमक्ष हार्दिक अपिल गर्दछौँ। 

दिनेश कोइराला
संघीय संसद्का लागि उम्मेदवार
क्षेत्र नम्बर ३, चितवन

सुझावित समाचार