एमाले-सत्तागठबन्धनका कार्यकर्ताबीच झडप, एकजना घाइते

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

नवलपरासीमा एमाले-गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा एकजना घाइते भएका छन्।  

उम्मेदवारी फिर्ता गर्ने विषयमा निर्वाचन अधिकृतको कार्यालयमा गठबन्धन र एमाले कार्यकर्ताबीच धकेलाधकेल हुने क्रममा लडेर घाइते भएका माओवादी केन्द्रका नेता बालकृष्ण गैह्रेलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ।

धकेलाधकेल (झडप) हुँदा लडेका गैह्रेलाई कालिगण्डकी नारायणी सामुदायिक अस्पतालमा उपचारको लागि पुर्याइएको थियो। अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर छविलाल थापाका अनुसार गैह्रेको रक्तचाप बढेको, चक्कर लाग्ने र बान्ता भइरहकाले सिटिस्क्यानका लागि चितवन रिफर गरिएको हो। 

धकेलाधकेलका क्रममा लडेपछि भुइँमा बजारिएर उनको टाउकोमा चोट लागेको हो। धकेलाधकेलमा लडेका गैह्रेको टाउकोमा भित्री चोट लागेको र चोट कस्तो प्रकृतिको छ भन्ने सिटिस्क्यानपछि थाहा हुने थापाले बताए।

कांग्रेस र माओवादी केन्द्रबीच सहमतिपश्चात् प्रतिनिधिसभाको उम्मेदवारी फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका गैह्रेलाई समय सकिएको भन्दै एमाले कार्यकर्ताले रोक्ने प्रयास गरेका थिए। एमाले कार्यकर्ताले रोक्ने प्रयास गरेपछि गठबन्धन र एमाले कार्यकर्ताबीच हात हालाहालको स्थिति भएको थियो।

सुझावित समाचार