यही २६ र २७ सेप्टेम्बरमा फोब्र्सको २०औँ संस्करण ‘ग्लोबल सिइओ कन्फरेन्स’ सिंगापुरमा सम्पन्न भयो । उक्त सम्मेलनमा विश्वका दोस्रो धनी व्यक्ति गौतम अडानी पनि सहभागी थिए । ‘ग्लोबल सिइओ कन्फरेन्स’मा उनले दिएको ‘कि–नोट स्पिच’लाई नयाँ पत्रिकाका मीनराज बसन्तले संक्षेपीकरण गरेका छन् :
ग्लोबल सिइओ कन्फरेन्समा भाग लिन पाउँदा गौरवान्वित छु । कोभिडका कारण तीन वर्षसम्म यसरी खुलेर भेटघाट गर्न पाइएको थिएन । गुगल र माइक्रोसफ्टका भर्चुअल मिटिङले मलाई म कतै बादलमा छु भन्ने आभास गराएका थिए । पछिल्ला केही दशक वैश्विक अर्थतन्त्रका लागि सम्झनलायक रह्यो ।
यस परिप्रेक्षमा सम्मेलनको थिम ‘अगाडिको बाटो’ आकर्षक छ । तपाईं र मैले गर्ने ‘अगाडिको बाटो’बारेको व्याख्यान एकै नहुन सक्छ । मेरो विचारमा आज वैश्वीकरण एउटा मोडमा छ । एक धु्रवीय विश्वभन्दा धेरै फरक बिन्दुमा हामी पुगिसकेका छौँ । हामीमध्ये धेरैले थोमस फ्रायडको सामाजिक–आर्थिक व्यवसायको ढाँचा पढेका छौँ, जसले विश्व समताकारी छ भन्ने दाबी गर्छ ।
हामी डिजिटल क्रान्तिले सबै सीमा भत्काएको विश्वास गर्न थालेका छौँ । हामी स्वतन्त्र बजार र अर्थतन्त्रको एकीकरणले असीमित आर्थिक प्रगतितर्फको मार्ग प्रशस्त गर्छ भन्ने मान्छौँ । तीन वर्षमै यसरी विश्व बदलिन्छ भन्ने हामीमध्ये कसले सोचेका थियौँ ? यसअघि कहिल्यै भोग्नुनपरेको जटिलताले उच्च माग र आपूर्ति संकट सिर्जना गर्यो । यसले मुद्रास्फीतिलाई ४० वर्षयताकै उच्च दरमा बढायो । अधिकांश केन्द्रीय बैंकले ब्याजदर उच्च बनाएका छन् । आजको दिनमा यो एकदमै सोचनीय विषय हो ।
एक खर्ब डलर लगानी : मसम्बद्ध अडानी ग्रुपले आगामी एक दशकमा एक खर्ब अमेरिकी डलर लगानी गर्नेछ । यो लगानी मुख्य रूपमा नवीन ऊर्जा र डेटा सेन्टरसहित डिजिटल क्षेत्रमा गरिनेछ । यसको ७० प्रतिशत लगानी एनर्जी ट्रान्जिसन स्पेसमा हुनेछ । ग्रिन हाइड्रोजनका कारण भारत कुनै दिन खुद ऊर्जा निर्यातक बन्न सक्छ । अहिले भारतले आफ्नो आवश्यकताको ८५ प्रतिशत तेल–इन्धन आयात गर्दै आइरहेको छ ।
अहिले हामीले २० गिगावाट विद्युत् नवीकरणीय स्रोतबाट उत्पादन गरिरहेका छौँ । नयाँ लगानी थपेर ४५ गिगावाट हाइब्रिड नवीकरणीय ऊर्जा उत्पादन गर्नेछौँ । नवीकरणीय ऊर्जाका प्लान्टहरू (सौर्य, वायु ऊर्जा र हाइड्रोजनमा आधारित विद्युत् उत्पादन प्लान्ट) अहिले एक लाख हेक्टर भूमिमा फैलिएको छ । यो भनेको सिंगापुरको १.४ गुना क्षेत्रफल हो । यसबाट तीन करोड टन सफा हाइड्रोजन इन्धनको पनि व्यवसायीकरण हुनेछ ।
तीन गिगा फ्याक्ट्री स्थापना गर्दै छौँ : बन्दरगाहदेखि लिएर ऊर्जा कारोबारमा सामेल ग्रुपले आगामी दिनमा हाइब्रिड ऊर्जा उत्पादनको जडित क्षमता ४५ गिगावाट पुर्याउनेछ । यसबाहेक ग्रुपले सोलार प्यानल, वायु टर्बाइन र हाइड्रोजन इलेक्ट्रोलाइजरमा आधारित तीन गिगा फ्याक्ट्री स्थापना गर्नेछ । यसमा १० गिगावाटको सिलिकनमा आधारित फोटोभोल्टिक सोलार प्यानल, १० गिगावाटको एकीकृत वायु टर्बाइन र पाँच गिगावाटको हाइड्रोजन इलेक्ट्रोलाइजर फ्याक्ट्री सामेल छन् । आज हामी कम मूल्यमै ग्रिन इलेक्ट्रोनको र सबभन्दा कम लागतमा ग्रिन हाइड्रोजनको उत्पादक हुने दिशामा छौँ ।
सन् २०५० सम्म भारत ठूलो मात्रामा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने देश बन्दै ३० खर्ब डलरको अर्थतन्त्रबाट ३०० खर्ब डलरको अर्थतन्त्रमा उक्लनेछ । साथै, भारतीय पँुजी बजार ४५० खर्ब डलरसहित शीर्ष स्थानमा आउनेछ ।
भारतीय डेटा सेन्टर बजार तीव्र गतिमा बढिरहेको छ । यो क्षेत्रले विश्वका अन्य उद्योगको तुलनामा अधिक ऊर्जा खपत गर्छ । यसकारण ग्रिन डेटा सेन्टर बनाउने हाम्रो कदम एउटा परिवर्तन हो । भारत अविश्वसनीय अवसरले भरिएको छ । वास्तविक भारत विकासको कथा अब बल्ल सुरु हुँदै छ । कुनै बखत वैश्वीकरणमा अग्रणी रहेको चीनले अब चुनौतीको सामना गर्दै छ ।
२५ वर्षमा गरिबीमुक्त : सन् २०५० सम्म भारत पूर्णतया साक्षर हुनेछ भने त्यसअघि नै गरिबीबाट मुक्त हुनेछ । सन् २०५० मा भारतको आधा जनसंख्या ३८ वर्षमाथिको हुनेछ भने आधा ३८ वर्षभन्दा कम उमेरको हुनेछ । भारत मध्यमवर्गको दृष्टिले विश्वकै सबैभन्दा ठूलो उपभोक्ता हुनेछ । भारत ठूलो मात्रामा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने देश बन्दै ३० खर्ब डलरको अर्थतन्त्रबाट ३०० खर्ब डलरको अर्थतन्त्रमा उक्लनेछ । साथै, भारतीय पुँजी बजार ४५० खर्ब डलरसहित शीर्ष स्थानमा आउनेछ । भारत अहिले विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो । सन् २०३० सम्म भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ । स्वतन्त्रता प्राप्तिपछिको ७५औँ वर्षमा यहाँको वास्तविक आर्थिक वृद्धि भर्खरै सुरु हुँदै छ । अहिले भारतलाई ‘अमृत काल’ भनिन्छ, अर्थात् सुन्दर भविष्य निर्माणका लागि आजको समय सबैभन्दा स्वर्णिम छ ।
भारत स्वतन्त्र भएपछि १० खर्ब डलरको जिडिपी बन्न ५८ वर्ष लाग्यो । त्यसपछि २० खर्ब डलरको जिडिपी पुग्न झन्डै १२ वर्ष लाग्यो भने ३० खर्ब पुग्न मात्रै पाँच वर्ष लाग्यो । यसलाई आधार मान्दा डिजिटल क्रान्ति र रूपान्तरणले सबै प्रकारका गतिविधिलाई तीव्रता दिने सहज आकलन गर्न सकिन्छ । यसको साक्षी हामी बसिसकेका छौँ । सन् २०२१ मा भारतले प्रत्येक नौ दिनमा एक नयाँ उद्यम (सफल स्टार्टअप) जन्माएको थियो । यसले सन् २०२१ मा विश्वभर ४८ अर्ब डलरको आश्चर्यजनक रियल–टाइम वित्तीय कारोबार गर्यो । यो चीनको यस प्रकारको कारोबारभन्दा तीन गुणा र अमेरिका, क्यानडा, फ्रान्स तथा जर्मनीको समग्र कारोबारभन्दा ६ गुणा बढी हो ।
भारतको वृद्धिमा घरेलु लगानी मुख्य : अर्थतन्त्र वृद्धिमा घरेलु र वैदेशिक दुवै लगानी चाहिने भए पनि आजसम्मको भारतको वृद्धि–यात्रालाई डोर्याउने प्रमुख तत्व हो, घरेलु लगानी । गत वर्ष भारतले ८५ अर्ब डलर एफडिआई भित्र्याएको थियो । अब यो वर्ष एक खर्ब डलर पुग्ने अनुमान छ र यसले पुनः अर्को रेकर्ड बनाउनेछ । सन् २००० को तुलनामा भारतको एफडिआई २० गुणाले बढेको छ । यो भारतमा विश्वको विश्वास बढेकोे संकेत हो । आगामी १५ वर्षमा एफडिआई ५० खर्ब पुग्ने आकलन छ । भारत एफडिआईमा तीव्र वृद्धिसहित आकर्षक गन्तव्य बनेको छ ।