उम्मेदवारी दिन ठिक्क परेका केही व्यक्तिको अन्तिम समयमा टिकट खोसिएको छ । यस्ता केहीले बागी उम्मेदवारी दिएका छन् भने केही नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको टिकट अन्तिम समयमा खोसिएको छ । महामन्त्री गगन थापाले सर्लाही– ४ बाट चुनाव लड्ने तयारी गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले महरलाई काठमाडौं– ४ बाट उम्मेदवार बनाउने निर्णय गरेका थिए । स्रोतका अनुसार उनको हातमा टिकट नै परेको थियो । तर, सोमबार बिहानै थापाले काठमाडौंबाटै उठ्ने बताएपछि उनको टिकट फिर्ता गरियो ।
एमालेले सुरुमा रूपन्देही– ५ मा तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासु घिमिरेलाई टिकट दिएको थियो । टिकटका लागि पोलिटब्युरो सदस्य खिमलाल भट्टराई पनि प्रतिस्पर्धामा थिए । त्यसका लागि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा नै दिएका थिए । घिमिरेले उम्मेदवारी दर्ता गराएपछि एमालेकै टिकटमा भट्टराईले उम्मेदवारी दर्ता गराए । अध्यक्ष केपी ओलीले भट्टराई नै आधिकारिक उम्मेदवार भएको र भूलवश घिमिरेलाई टिकट दिइएको भन्दै निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेका थिए । आयोगले दुवैको उम्मेदवारी दर्ता गरेको छ ।
काठमाडौं– ५ को प्रदेश सभा (ख) मा एकीकृत समाजवादीको पनि उम्मेदवारी खोसिएको छ । समाजवादीका तर्फबाट बालकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेकै वेला कांग्रेसका श्याम खड्काले उम्मेदवारी दिएपछि श्रेष्ठको टिकट खोसिएको हो । श्रेष्ठ र दीपक केसीमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने झगडा मिलाउन एकीकृत समाजवादी केन्द्रित भएकै वेला खड्काको उम्मेदवारी परेको थियो ।
नुवाकोट २ (क) मा पनि एकीकृत समाजवादीको क्षेत्र खोसिएको छ । संघमा कांग्रेस, प्रदेश (क) एकीकृत समाजवादी र (ख) माओवादीले लिने सहमति गठबन्धनमा भएको थियो । प्रतिनिधिसभामा कांग्रेस नेता अर्जुननरसिंह केसीको उम्मेदवारी परेको छ । प्रदेश (क)मा एकीकृत समाजवादीबाट राजेन्द्रप्रकाश लोहनी र (ख)मा माओवादीबाट राममाया बोगटीले टिकट पाएका थिए । तर, (क) मा माओवादीका रामप्रसाद ढुंगाना र (ख) मा कांग्रेसका बहादुरसिंह लामा उम्मेदवार बनेका छन् ।
कांग्रेसका अर्का केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको प्रदेश सभातर्फको टिकट पनि अन्तिममा खोसिएको छ । दोलखा (ख)बाट उम्मेदवार हुने भनी निश्चित गरिएका सिवाकोटीलाई टिकट नदिएर जिल्ला सभापति बर्मा लामालाई अन्तिममा उम्मेदवार बनाइएको छ ।