निर्यात सम्भावना १० खर्बको, उपयोग दुई खर्बको मात्रै

विश्व बैंकको अध्ययनले भन्छ– ५० मुलुकमध्ये सबैभन्दा धेरै सम्भावना खेर फालिरहेको देश नेपाल हो

शनिबार, १५ असोज, २०७९
डिजिटल संस्करण

नेपालको निर्यात सम्भावना अधिक हुँदाहुँदै पनि ठूलो अवसर गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार आठ गुणाभन्दा बढी निर्यात सम्भावना गुमिरहेको देखिएको हो । विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता रहेको बताए । तर, गत वर्ष नेपालको निर्यात व्यापार पहिलोपटक दुई खर्ब नाघेको राष्ट्र बैंकको तथ्यांक छ । गत वर्ष अमेरिकी डलरको औसत विनिमय दर ११५–११६ रुपैयाँले हिसाब गर्दा नेपालले वार्षिक करिब साढे १० खर्बको वस्तु विदेश निर्यात गर्न सक्ने क्षमता राख्छ । यसलाई गत आर्थिक वर्षको निर्यातसँग तुलना गर्ने हो भने आठ गुणाभन्दा बढी सम्भावना देखिएको छ । विश्व बैंकको अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा धेरै सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नेपालको निर्यात सम्भावना विषयक कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री भरेलाले नेपालको निर्यात सम्भावना उच्च रहेको बताए । नेपालको व्यापार घाटा निरन्तर बढिरहेका वेला विश्व बैंकको अध्ययनले सम्भावना देखाएको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालसँग एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको अति कम विकसित मुलुक क्याम्बोडिया, लाओसजस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको पनि निर्यात सम्भावना रहेको बताए । 

एउटै खालकोे भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म निर्यातमा करिब आधा कृषि उत्पादन, आधा कपडा र बाँकी थोरै अंश खनिज र अन्य उत्पादनहरू थिए । तर, सन् २०१९ कोभिडपूर्व ठूलो परिवर्तनका साथ लाओसले निर्यातमा कृषि र कपडालाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर र रसायनमा आधारित वस्तुुहरू, विद्युतीय ऊर्जा थप्न सफल भयो । जसले लाओसको अर्थतन्त्रलाई निकै माथि लान सफलता मिलेको विश्व बैंकको तर्क छ । 

सोही समयमा नेपालको कपडा निर्यात पहिलो नम्बरमा थियो । त्यसपछि कृषि र अन्य रसायनमा आधारित वस्तुुहरू थिए । त्यसको २० वर्षपछिसम्म पनि नेपालले निर्यातयोग्य वस्तुुहरू विविधीकरण गर्न नसकेको देखिन्छ । ‘धेरै कृषि, थोरै कपडा, तर ती दुई समूहले नै निर्यातमा वर्चस्व राखेको पाइयो,’ कार्यपत्र प्रस्तुत गर्दै गोन्जालोले भने, ‘नेपालको वृद्धि उत्पादकत्वको आधारमा देखिँदैन । नेपाली उद्योग–व्यवसायले तीव्र निर्यातमार्फत लाभ लिन सकेको पाइँदैन । न्यून परिणामको निर्यात, सीमित देशहरूमा मात्र केन्द्रित र छोटो समयको निर्यात र न्यून बाह्य लगानी नै नेपालको मुख्य चुनौतीका रूपमा देखिएको छ ।’

न्यून बाह्य लगानी आप्रवाहले वृद्धिका अवसरहरू र उत्पादकत्व फैलाउने सम्भावनालाई समेत थप सीमित बनाइदिएको अर्थशास्त्री गोन्जालोको निष्कर्ष छ । उनले थप स्पष्ट पार्दै भने, ‘किनभने, लाओस क्याम्बोडियाजस्ता मुलुकहरूले धेरै विदेशी लगानी आकर्षित गर्न सके, जसले देशको उत्पादन र उत्पादकत्व दुवै बढ्यो । नेपालले भने लगानी र निर्यात दुवै बढाउन सकेन ।’ नेपालका सम्भावनालाई यथार्थतामा रूपान्तरण गर्न उद्योग–व्यवसायलाई उनीहरूको उत्पादन तथा सेवा अधिक राम्रो बनाउन, उत्पादित वस्तुुहरूलाई सफलतापूर्वक अन्तर्राष्ट्रिय बजारमा ल्याउन र त्यसलाई प्रोत्साहन गर्न सरकारले निजी क्षेत्रसँग प्रभावकारी रूपमा सहकार्य गर्नुपर्ने उहाँको सुुझाव थियो । 

महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरूपी एउटा मात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवद्र्धनमा काम गर्नुपर्नेमा जोड दिए । ‘हामीले हाम्रो अर्थतन्त्रको आधार मजबुत बनाउन सकेनौँ भने जतिवेला पनि इन्जिन फेल हुन सक्ने खतरा रहेको छ,’ उनले भने, ‘हामीले हाम्रै स्रोतमा आधारित वस्तुहरू निर्यात गर्ने क्षमता राख्नुुपर्छ । यसमा सरकारले निजी क्षेत्रले दिएका सुुझावहरूको कार्यान्वयनमा विशेष ध्यान दिनुुपर्ने हाम्रो जोड छ ।’

उद्योगसचिव डा. तोयानारायण ज्ञवालीले मुलुकभित्र भित्रिएको विप्रेषणलाई हामीले देशभित्रै बचाएर राख्न नसकेको यथार्थता राख्दै यसका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यमा आफ्नो मन्त्रालय निरन्तर लागिरहेको र महासंघले अर्थतन्त्रको विस्तार, रोजगारी सिर्जना, व्यापार घाटा न्यून गर्ने उद्देश्यले ल्याएको भिजन पेपरको कार्यान्वयनका लागि सहकार्य भएको जानकारी पनि गराए । विश्व बैंकका अर्थशास्त्री गोन्जालोले प्रस्तुुत गरेको तथ्य–तथ्यांक र सुुझावहरू सरकारका लागि निकै महत्वपूर्ण रहेको उनको भनाइ थियो । 

योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले उत्पादनशील उद्योगहरूमै लाग्ने नीतिअनुरूप पूर्वाधारहरू पनि तयार भइरहेको भन्दै सरकारको नीति पनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन नैैै भएको आफूले पाएको र योजना आयोगले पनि सरकारलाई सोहीअनुसार सल्लाह दिएको बताए । महासंघका उपाध्यक्षद्वय अन्जन श्रेष्ठ र रामचन्द्र संघईले विश्व बैंकका तर्फबाट प्रस्तुुत कार्यपत्र हाम्रा लागि निकै नै ऊर्जा दिने खालका देखिएकाले उक्त सुुझावअनुसार निर्यात प्रवद्र्धनमा सरकार निजी क्षेत्र आजैदेखि लाग्नुुपर्नेमा जोड दिए । औद्योगिक विस्तार, उत्पादन विस्तार नभएसम्म निर्यात प्रवद्र्धन हुन नसक्नेमा उनीहरूको जोड थियो । 

महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति मनीषलाल प्रधानले कार्यपत्र प्रस्तुुत गर्दै नेपालबाट निर्यात हुने वस्तुहरूको थप पहिचान एवं प्रवद्र्धन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको स्थापना यथाशीघ्र गरिनुपर्नेमा जोड दिए । निर्यात प्रोत्साहन सुुविधा सहज रूपमा पाउने व्यवस्था हुनुुपर्ने, अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको निकासी बढाउनुका साथै सहज र भरपर्दो रूपमा भुक्तानी प्राप्त गर्नका लागि अनलाइन भुक्तानीको व्यवस्था हुनुपर्ने, नेपाली कृषि उत्पादनमा बंगलादेश सरकारले लिँदै आएको चर्को भन्सार महसुल हटाउनेतर्फ सरकारले अविलम्ब पहल गर्नुपर्ने सुझाव उनको थियो । 

कार्यक्रममा सहभागी निर्यात व्यवसायसँग सम्बन्धित व्यवसायीहरूले निर्यातमा नगद अनुदानको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनुुपर्ने, नगद अनुदानसम्बन्धी कार्यविधि तयार गर्दा निजी क्षेत्रसँग पर्याप्त छलफल गर्नुपर्ने, कपास खेतीमा जोड दिनुुपर्नेलगायतका सुुझाव दिए । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत तुलनात्मक लाभ भएका वस्तुहरूको निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको थियो । सरकारले नगद अनुदान बढाएपछि सिमेन्ट र डन्डी उद्योगीहरूले भारततर्फ निर्यात सुरु गरेका थिए । तर, बजेट आएको साढे दुई महिना बितिसक्दासमेत नगद अनुदानको कार्यविधि आउन नसक्दा उद्योगी–व्यवसायीहरू पुनः निरुत्साहित भएको बताएका छन् । 

See More On

सुझावित समाचार