काठमाडौं/ गोर्खा ब्रुअरीद्वारा आयोजित काल्र्सबर्ग गल्फ क्लासिक तथा १०९औँ आरएनजिसी बर्थ डे कप गल्फ प्रतियोगिता सम्पन्न भएको छ । २३–२४ असोजमा रोयल नेपाल गल्फ क्लबमा सञ्चालित प्रतियोगितामा देशभरका एमेच्योर गल्फ खेलाडीको सहभागिता रहेको थियो ।
क्लबको १०९औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताले नेपालको गल्फ खेलको ऐतिहासिक विरासतलाई सम्मान गर्नुका साथै खेल भावना, स्वस्थ प्रतिस्पर्धा र आपसी सद्भाव प्रवद्र्धन गर्ने उद्देश्य राखेको बताइएको छ । प्रतियोगितामा पुरुष, महिला तथा विभिन्न उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको समापनसँगै आयोजित पुरस्कार वितरण समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरिएको थियो । पुरुषतर्फ अज्जर सिम्हा विजेता बने भने सुरज श्रेष्ठ उपविजेता भए । महिलातर्फ अन्वद्या मल्ल विजेता बनिन् भने सम्झना खत्री उपविजेता घोषित भइन् । त्यस्तै, सिनियर पुरुषतर्फ युवराज गुरुङ विजेता बने भने रवीन्द्रमान श्रेष्ठ उपविजेता भए ।