डिडिसीका उत्पादन बेच्न हेटौँडामा दुईवटा बिक्री केन्द्र सञ्चालनमा

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण

दुग्ध विकास संस्थान (डिडिसी)का उत्पादन मात्र बिक्री गर्ने गरी हेटौँडामा पहिलोपटक दुई विशेष बिक्री केन्द्र सञ्चालनमा आएका छन् । निजी क्षेत्रको करिब ३० लाख रुपैयाँ लगानीमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रचौरनजिक र वडा नम्बर–२ को कान्ति राजपथमा आइतबारदेखि केन्द्र सञ्चालनमा आएका हुन् ।

दुग्धजन्य पदार्थको उचित भण्डारण र तापक्रम कायम राखेर उपभोक्तासम्म पु¥याउने उद्देश्यले विशेष बिक्री केन्द्र सञ्चालन गरिएको डिडिसीको हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजीव खनालले जानकारी दिए । उनका अनुसार यसअघि किराना तथा फलफूल पसललगायतबाट संस्थानका उत्पादन बिक्री हुँदै आएका थिए ।

‘दुध तथा दुग्धजन्य पदार्थ संवेदनशील हुने भएकाले उत्पादनदेखि उपभोक्तासम्म पुग्दा उचित तापक्रम कायम राख्नुपर्छ,’ आयोजना प्रमुख खनालले भने, ‘विशेष बिक्री केन्द्रले उत्पादनको गुणस्तर संरक्षणसँगै उपभोक्तालाई सहज सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा राखिएको छ ।’

काठमाडौंमा सफल भएको विशेष बिक्री केन्द्रको अवधारणा हेटौँडामा विस्तार गरिएको प्रमुख खनालको भनाइ छ । यसबाट संस्थानको बजार र आम्दानी बढ्ने अपेक्षा गरिएको उल्लेख गर्दै आम्दानी वृद्धिले दुग्ध उत्पादक किसानलाई दुधको भुक्तानी छिटो उपलब्ध गराउनसमेत सहयोग पुग्ने उनले बताए ।

केन्द्रका सञ्चालक फेन्चु लामा रुम्बाले हुप्रचौरस्थित केन्द्रमा करिब २० लाख र कान्ति राजपथस्थित केन्द्रमा करिब १० लाख रुपैयाँ लगानी गरिएको जानकारी दिए । उनका अनुसार दुवै केन्द्रमा दुध, दही, मोही, घिउ, पनिर, चिज र लालमोहनलगायत करिब ३० प्रकारका दुग्धजन्य सामग्री उपलब्ध हुनेछन् । 

आयोजना प्रमुख खनालका अनुसार हेटौँडामा डिडिसीका उत्पादनको बजार विस्तारका लागि सातवटा वितरण केन्द्र निर्धारण गरिएको छ । चालू आर्थिक वर्षभित्र थप स्थानमा विशेष बिक्री केन्द्र सञ्चालन गर्ने योजनासमेत रहेको उनले बताए । दुवै केन्द्रको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले उपभोक्तालाई दुग्धजन्य सामग्री सहज रूपमा खरिद गर्न सुविधा पुग्ने विश्वास व्यक्त गरिन् ।

सुझावित समाचार