असल मित्र संकटमा चिनिन्छ, घाउमा नुनचुक दल्ने मित्र होइनन् : कमल थापा

शनिबार, १ असोज, २०७९
डिजिटल संस्करण

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा मकवानपुरको समग्र विकासका निमित्त मकवानपुरे जनताले साझा उम्मेदवारको रूपमा आफूलाई लिने बताएका छन्। कुनै दल वा व्यक्तिसँग आफ्नो नराम्रो सम्बन्ध र र प्रतिशोधी भावना नभएकाले सबैको सहयोग पाउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ।

शनिबार हेटौँडा– ८ कमानेमा आयोजित पार्टीको कार्यकर्ता भेलामा बोल्दै थापाले मकवानपुरको अधुरो विकासको सपना पूरा गर्न आफू चुनावी मैदानमा आएको जिकिर गरे। एउटा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति मुलुकले खोजिरहेको भन्दै थापाले स्वाभिमानी देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने समय आएको बताए।

प्रदेश राजधानी बनाउन आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै थापाले यहाँका युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्न, रिङ रोड र विश्वविद्यालय स्थापना गर्न, हेटौँडा–काठमाडौं सुरुङमार्ग निर्माण गर्न आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। मकवानपुरको विकासका कार्य सम्पन्न गर्न अझै केही काम अधुरो रहेकाले त्यो सम्पन्न गर्न आफू लाग्ने बताए। थापाले संकटको वेलामा साथ दिने मित्र हुने, घाउमा नुनचुक दल्ने मित्र हुन नसक्ने टिप्पणी गरे।

सुझावित समाचार