सडक कुकुरको कारण हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गराउन नुवाकोटमा कुकुरको स्थायी बन्ध्याकरण अभियान सञ्चालन गरिएको छ। छाडा, बेवारिसे तथा सडकमा रहेका कुकुरको संख्या फैलिन नदिनका लागि भाले र पोथी दुवैखाले कुकुरको स्थायी बन्ध्याकरण गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख भरत पाण्डेले जानकारी दिए।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले एक सातासम्म सञ्चालन गरेको बन्ध्याकरण अभियानमा एक सय ६० वटा कुकुरको बन्ध्याकरण गरिएको केन्द्रले जनाएको छ। छाडा कुकुरको कारण सडक दुर्घटनाको जोखिम हुने, मानिस र घरपालुका पशुवस्तुलाई टोक्नेजस्ता समस्या देखिने गरेकाले कुकुरको संख्या नियन्त्रण गर्न बन्ध्याकरण अभियान चलाइएको हो।
कुकुरको बन्ध्याकरण गरेपछि रेबिजविरुद्धको खोपसमेत लगाउने गरिएकाले ती कुकुरले टोकेमा रेबिजको जोखिम नहुने केन्द्रका निमित्त प्रमुख पाण्डेले बताए। ‘बन्ध्याकरण गरिएको कुकुरको कानमा थोरै चिरिएको छ। कतै छाडा कुकुरको कारण कुनै समस्या आएमा कानको चिह्नको आधारमा कुकुरको पहिचान गरी समाधान गरिनेछ,’ निमित्त प्रमुख पाण्डेको भनाइ छ।
केन्द्रले नेपाल एनिमल वेलफेयर एन्ड रिसर्च सेन्टर बनेपाको सहकार्यमा शिविर सञ्चालन गरेको हो। अभियानको क्रममा विदुर नगरपालिका क्षेत्रको बेत्रावती, बट्टार, कोलनी, देवीघाट क्षेत्र र लिखु गाउँपालिकाको ढिकुरे बजार क्षेत्रका कुकुरको बन्ध्याकरण गरिएको छ।
नुवाकोटमा पछिल्लो तीन वर्षदेखि छाडा कुकुर बन्ध्याकरण शिविर सञ्चालन भइरहेको छ। आर्थिक वर्ष ०७७/७८ मा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुई सय ४४ र आव ०७८/७९ मा विदुर नगरपालिकाले दुई सय तीनवटा कुकुरको स्थायी बन्ध्याकरण गराएको थियो।
केन्द्रले आगामी मंसिरपछि पुनः कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गर्नेछ। दोस्रो चरणको अभियानमा ग्रामीण भेगका बजारोन्मुख क्षेत्रका कुकुरलाई समेटिने योजना रहेको केन्द्रले जनाएको छ।