तालिमप्राप्त ३५ जना डाक्टर संक्रमण धेरै भएका जिल्लामा खटाइने
डेंगु संक्रमण रोकथामका लागि स्वास्थ्य मन्त्रालयले छुट्टै टिम परिचालन गर्ने भएको छ । मन्त्रालयले ३५ जना डाक्टरलाई तालिम दिएर डेंगु नियन्त्रणमा खटाउन लागेको हो ।
हाल संक्रमण धेरै भएका जिल्लामा डेंगु नियन्त्रणका लागि खटाउनुअघि डाक्टरहरूलाई तालिम दिइनेछ । मन्त्रालयले बढी प्रभावित जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर, निजी र सरकारी अस्पतालका डाक्टरलाई समेटेर दुईदिने तालिम दिनेछ । तालिम बुधबार र बिहीबार स्वास्थ्य मन्त्रालयमा हुनेछ । तालिमपछि एकजना सरुवारोग विशेषज्ञ डाक्टरको कमान्डमा डेंगु नियन्त्रणमा अन्य स्वास्थ्यकर्मी, सम्बन्धित वडाका प्रतिनिधि र स्वयंसेवकहरू खटिनेछन् ।
दश जिल्लालाई प्राथमिकतामा राखेर काम गर्छौँ : डा. सञ्जयकुमार ठाकुर प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
अहिले तुरुन्तै दश जिल्लालाई प्राथमिकतामा राखेर काम गर्छौँ । त्यसपछि जहाँ–जहाँ फैलिन्छ, ती जिल्लामा हाम्रो ध्यान जान्छ । तर, अब जाडो सुरु हुँदै छ, एक महिनासम्म ध्यान दियौँ भने डेंगु संक्रमण घट्छ । तराईका जिल्लामा अझै दुई महिना संक्रमण बढ्न सक्ने अवस्था देखिन्छ ।
घरघरमै चेतना दिन सके मात्रै यसको नियन्त्रणमा सम्भव हुने मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बताए । उनका अनुसार डेंगु संक्रमण तीव्र भएपछि रोकथामका रणनीतिसहित नियन्त्रणमा लागिएको हो । मन्त्रालयमा मंगलबार बसेको स्वास्थ्यमन्त्रीस्तरीय बैठकले जिल्लास्थित स्वास्थ्य कार्यालयसँगको समन्वयमा सम्बन्धित वडा कार्यालयले डेंगु रोकथामका कार्यक्रम अघि सार्ने निर्णय गरेको प्रवक्ता ठाकुरको भनाइ छ ।
उनका अनुसार गम्भीर बिरामीलाई मात्रै अस्पताल भर्ना गर्ने, सामान्य बिरामीलाई डाक्टरको सल्लाहअनुसार घरमै राख्ने, पर्याप्त डेंगु परीक्षण गर्ने, घरघर र वडावडामा जनचेतनामूलक कार्यक्रम गर्ने, स्वास्थ्य संरचनाको यकिन गर्ने, सामान्य रोगका बिरामीलाई अस्पताल भर्ना नगर्ने, सकेसम्म आइसियू र अन्य बेड खाली राख्ने, प्रत्येक जिल्लामा किटको अभाव हुन नदिनेजस्ता निर्णय बैठकले गरेको छ । ‘अहिले तुरुन्तै दश जिल्लालाई प्राथमिकतामा राखेर काम गर्छौँ, त्यसपछि जहाँ–जहाँ फैलिन्छ, ती जिल्लामा हाम्रो ध्यान जान्छ,’ उनले भने, ‘तर, अब जाडो सुरु हुँदै छ, एक महिनासम्म हामीले ध्यान दियौँ भने डेंगु संक्रमण घट्छ ।’
मन्त्रालयको तथ्यांकअनुुसार हाल संक्रमित संख्या ६ हजार दुई सय सात पुगेको छ । त्यसमध्ये दश जिल्लामा डेंगु भयावह बनेको छ । उपत्यकाभित्र ललितपुर र काठमाडौंमा डेंगु बढी फैलिएको छ ।
यसरी गरिनेछ नियन्त्रणका कार्यक्रम
जिल्ला स्वास्थ्य कार्यालय, वडा कार्यालय, स्वयंसेवकलगायतको टोली घरघर तथा टोलटोलमा पुगेर डेंगु नियन्त्रणबारे जनचेतना फैलाउनेछन् । हाल यी कार्यक्रम संक्रमण फैलिएका जिल्लामा सुरु भइसकेको छ । मन्त्रालयले पर्चा, पम्प्लेट, भिडियोजस्ता सामग्री निर्माण गरेर जनचेतना प्रवाह गर्न पनि स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ । त्यस्तै, कति बिरामी कुन अवस्थामा छन् भनेर वर्गीकरण गरिनेछ । डेंगु संक्रमणसम्बन्धी देशभरको डाटा इडिसिडीको सर्भरमा इन्ट्री गरिनेछ । डेंगु टेस्टका लागि निजी अस्पतालका ल्याब पनि प्रयोग गरिनेछ ।
अस्पतालमा आएका र डेंगुसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको डेंगु परीक्षण गरिनेछ । यसबाहेक डेंगु नियन्त्रणका लागि कति जनशक्ति चाहिन्छ आकलन गरी दुई दिनभित्र मन्त्रालयलाई जानकारी गराउन सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय, इडिसिडी र सरकारी अस्पताललाई मन्त्रालयले निर्देशनसमेत दिएको छ ।
त्यसअनुसार अभाव हुने ठाउँमा जनशक्तिको व्यवस्थापन गर्न सहज हुने मन्त्रालयका प्रवक्ता ठाकुरको भनाइ छ । बैठकमा डेंगु रोकथामका लागि इडिसिडीले तीन दिनभित्र कार्यविधि तयार पारेर मन्त्रालयमा पेस गर्नेछ । त्यसपछि कार्यविधिअनुसार डेंगु नियन्त्रणमा लागिने मन्त्रालयले जनाएको छ ।
अहिले तुरुन्तै दश जिल्लालाई प्राथमिकतामा राखेर काम गर्छौँ । त्यसपछि जहाँ–जहाँ फैलिन्छ, ती जिल्लामा हाम्रो ध्यान जान्छ । तर, अब जाडो सुरु हुँदै छ, एक महिनासम्म ध्यान दियौँ भने डेंगु संक्रमण घट्छ । तराईका जिल्लामा अझै दुई महिना संक्रमण बढ्न सक्ने अवस्था देखिन्छ ।