सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएको चार दिन बितिसक्दा पनि त्रिभुवन विश्वविद्यालयको तालाबन्दी खुल्न सकेको छैन । विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशन पनि आफ्नै पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरूले अटेर गर्दा त्रिवि समस्या अझै सुल्झिन नसकेको हो ।
शुक्रबार मात्रै शंकरदेव क्याम्पसमा आयोजित ६९औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवनको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले विश्वविद्यालय समस्याको प्रसंग उप्काएका थिए । राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयको समस्या पहिचान गर्नुपर्ने उनको भनाइ थियो । ‘तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान हुँदैन । राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ,’ सभामुखको रुलिङपछि पहिलोपल्ट विश्वविद्यालयको समस्याबारे उनको औपचारिक धारणा आयो ।
उनको अभिव्यक्तिले आफ्नै पार्टीको विद्यार्थी संगठनले गरेको हडताललाई पनि रोक्न नसकेको संकेत गर्छ । प्रधानमन्त्री देउवाले शंकरदेवमा यस्तो अभिव्यक्ति दिइरहँदा उता संसद्मा भने शुक्रबार पनि पुनः रुलिङको माग भयो । संसद्को शून्य समयमा बोल्दै एमाले सांसद पदम गिरीले कुलपति रहेका प्रधानमन्त्री र सहकुलपति रहेका शिक्षामन्त्रीले नै विश्वविद्यालयलाई बन्धक बनाएको आरोप लगाए ।
‘नेकपा एमालेका सांसदहरूले बारम्बार ध्यानाकर्षण गराएपछि सभामुखज्यूले १३ गते तुरुन्त विश्वविद्यालय खोल्न लगाउनू भनेर सरकारका नाममा रुलिङ गर्नुभयो,’ संसद्मा बोल्दै उनले भने, ‘तर, विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति शिक्षामन्त्री खुलाउनतिर लाग्नुभएको छैन । बरु स्वयं सुरक्षा दिनुपर्ने निकायका गृहमन्त्रीज्यू, आज त्यहीँ प्रहरी प्रशासन बसेर नेविसंघले लगाएको ताला हेरेर बसिरहेको छ, त्यसको सुरक्षा गरिरहेको छ । विश्वविद्यालयका पदाधिकारी विश्वविद्यालय आउन सक्ने अवस्था छैन । सरकारका प्रधानमन्त्री र शिक्षामन्त्री, जो विश्वविद्यालयको जिम्मेवार व्यक्तित्व हुनुहुन्छ, उहाँहरूले नै विश्वविद्यालयलाई बन्धक बनाएर यो मुलुक कसरी चलाउन खोज्नुभएको हो ? त्यसैले पुनः रुलिङ होस्, सभामुख महोदय । सदनको रुलिङ पालना गर्न नसक्ने यो सरकार वास्तवमा लाचार अवस्थामा छ । यस विषयमा सिंगो सदनको ध्यानाकर्षण होस् ।’
गत भदौ १० गते होटेल यल्लो प्यागोडामा त्रिवि कार्यकारी परिषद्को बैठक चलिरहँदा नेविसंघ त्रिवि इकाइका योगेन्द्र रावलको समूहले बैठकको माइन्युट र महत्वपूर्ण कागजात नै कब्जामा लिएको थियो । त्यतिवेला आक्रोशित प्रधानमन्त्री देउवाले ‘यस्तो हर्कत गर्ने कार्यकर्ता नै भए पनि थुन्न’ गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका थिए । तर, गृहमन्त्रीले त्यसो गरेनन् । ती कागजात शिक्षामन्त्री देवेन्द्र पौडेललाई फिर्ता गराएर समस्या समाधान गराउनतिर लागे ।
यस विषयमा पनि सांसद गिरीले प्रश्न उठाए । ‘पछि शिक्षामन्त्रीले ती डकुमेन्ट बुझेको सुनियो,’ उनले संसद्मा आक्रोशित हुँदै भने, ‘शिक्षामन्त्री त्यस्तो डकुमेन्ट बुझ्ने निकाय हो कि होइन ? अझ त्यसपछि विश्वविद्यालयका पदाधिकारी प्रहरी वृत्त दरबारमार्ग पुग्दा पुलिसले मुद्दा पनि दर्ता गर्न मानेन । अहिले सम्पूर्ण पदाधिकारी असुरक्षित भएका छन् । फोन अफ गरेर बसेका छन् । उनीहरू घरमा सुत्न नसक्ने अवस्था भएको छ, डरले । तर, सरकार ताला हेरेर बसिरहेको छ ।’
सांसद गिरीले पुनः रुलिङको माग गरे पनि सभामुख सापकोटाले यसबारे केही बोलेनन् । भदौ १३ गते भने एमाले सांसद प्रदीप ज्ञवालीले रुलिङ नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएपछि उनले सरकारका नाममा निर्देशन दिएका थिए । ‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दीलगायतका विरोध कार्यक्रमले शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । यसमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु,’ उनले भनेका थिए ।
त्यतिवेला सांसद ज्ञवाली त्रिविको गम्भीर समस्याका विषयमा सरकार मौन देखिएको भन्दै विश्वविद्यालयका कुलपति, सहकुलपति या गृहमन्त्री बालकृष्ण खाणमध्ये जसले भए पनि जवाफ दिनुपर्ने बताएका थिए । सभामुखले रुलिङ दिएको सात दिनभित्र सरकारका तर्फबाट संसद्मा जवाफ दिनुपर्ने हुन्छ । शुक्रबार जवाफ आएन, सम्भवतः अब आइतबार बस्ने संसद्मा जवाफ आउनेछ ।
सांसद ज्ञवालीले संसद्मा बोल्ने क्रममा तीन वर्षमा तीन सयभन्दा बढी दिन त्रिविमा सत्तारूढ विद्यार्थी संगठनबाटै ताला लगाइएको भन्दै आपत्ति जनाएका थिए । उनले प्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरूको बचाउमा सरकार नै उत्रिएको आरोप लगाए । ‘उनी बैसाखी टेकेर कक्षाकोठामा पढाउन जाने अवस्थामा छन्, तर आक्रमणकारीलाई कारबाही हुँदैन,’ बैठकमा बोल्दै उनले भने, ‘उल्टै महान्यायाधिवक्ता मुद्दा फिर्ता लिनुहुन्छ । पुलिस पछाडि लगाएर सत्तारूढ दलका विद्यार्थी ताला लगाउन जान्छन् । उपकुलपतिको कुर्सी तोडफोड गर्छन् । चरम विकृत अभ्यास गर्छन् । हिजो शैक्षिक आन्दोलनको नेतृत्व गरेका व्यक्ति देशको सर्वाेच्च पदमा पुग्दा उहाँहरूले दिने स्कुलिङ यही हो ? कि प्राध्यापकलाई कुट, तिमीहरूलाई पछाडिबाट प्रोटेक्सन पुलिसले दिन्छ, मुद्दा चल्यो भने महान्यायाधिवक्ता कार्यालयबाट फिर्ता गराउँछौँ भनेको हो ?’
समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक चलाउनेमाथि २२ असोज ०७७ मा त्रिवि परिसरभित्रै आक्रमण भएको थियो । तर, चलाउनेमाथि आक्रमणको आरोपमा पक्राउ परेका पाँचजनालाई काठमाडौं जिल्ला अदालतले साधारण धरौटीमा छाडिसकेको छ । रूपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, नीरज रानामगर र दीपक ओझा जनही २० देखि ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । आक्रमणका योजनाकार भनिएका नेविसंघ त्रिवि समिति अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावल भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
त्रिविका पदाधिकारीहरूका अनुसार गत ७ माघयता त्रिविमा पाँच महिनाभन्दा बढी तालाबन्दी भएको छ । २७ असारयता मात्रै त्रिविका विभिन्न पाँचवटा कार्यालयमा तालाबन्दी भएको छ । नेविसंघमा आबद्ध केही विद्यार्थीले ८ भदौमा उपकुलपति कार्यालयको ढोका तोडेर भित्र पसेको र कुर्सीमा जुत्ताको मालासमेत लगाएको आरोप छ ।