दक्षिणपश्चिम इरानमा मंगलबार बिहान मिनीबस र ट्रक ठोक्किँदा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य आठजना घाइते भएका छन् । दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको गभमिशाबादबाट सुष्टर जाने बाटोमा ट्रकसँग मिनीबस ठोक्किएको सुष्टारका चिकित्सा विज्ञान विश्वविद्यालयका प्रमुख मोज्ताबा कलान्तरले बताएका छन् ।
उनले कामदारहरू सो मिनीबसमा सवार रहेको पुष्टि गरेका छन् । आपतकालीन सेवा र एम्बुलेन्सको सहायताले घाइतेहरूलाई अस्पताल पुर्याइएको बताइएको छ । यसअघि खुजेस्तानको मेडिकल इमर्जेन्सी सेन्टरका जनसम्पर्क कार्यालयका निर्देशक आरेफ असल सरहानीले घाइतेहरूलाई अस्पताल लैजानका लागि हेलिकाेप्टर पनि पठाइएको बताएका थिए । घटनाको कारणबारे प्रदेश प्रहरीले अनुसन्धान गरिरहेको छ ।