सबैभन्दा बढी राजस्व दाखिला गर्ने, लगानीकर्तालाई धेरै लाभांश र कर्मचारीलाई बोनस दिनेमा विदेशी लगानीकै कम्पनी अगाडि
- नेपालको उत्पादनमूलक उद्योग, दूरसञ्चार, बैंकिङ, जलविद्युत्, वायुसेवा, खानीजन्य, होटेललगायतमा विदेशी लगानी
- स्टक मार्केटमा पनि सबैभन्दा धेरै मूल्य भएका विदेशी लगानीकै बहुराष्ट्रिय कम्पनी
- विदेशी कम्पनीले पुँजी प्रविधि र कर्पोरेट ट्रेन्ड भित्र्याए, देशमा कर्पोरेट कल्चर विकासमा पनि बहुराष्ट्रियकै भूमिका
देशले कोभिड महामारी, महँगी, तरलता अभाव, ब्याजदर वृद्धिलगायत संकट झेलिरहेको समयमा पनि विदेशी लगानीका बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा आकर्षक आम्दानी गरेका छन् । गत आर्थिक वर्ष ०७८/७९ मा धेरैजसो बहुराष्ट्रिय कम्पनीहरूले सञ्चालन आम्दानी र मुनाफा दुवै बढाएका छन् । केही विदेशी कम्पनीहरूले त व्यवसायसमेत विस्तार गर्न सफल भएका छन् ।
गत वर्ष विदेशी लगानी भएका एनसेल, सूर्य नेपाल, गोर्खा ब्रुअरी, नबिल बैंक सबैभन्दा धेरै राजस्व दाखिला गर्ने प्रमुख १० कम्पनीभित्र परेका छन् । वार्षिक कारोबार, सेयरको मूल्य, उनीहरूले गरेको निर्यात, रोजगारी सिर्जना, मुनाफा आर्जन, लाभांश वितरणलगायतलाई विश्लेषण गर्दा विदेशी लगानीका कम्पनीले नेपालमा राम्रो व्यवसाय गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं युनिलिभरका नेपाल प्रतिनिधि रविभक्त श्रेष्ठले बताए ।
नेपालको स्टक मार्केटमा सबैभन्दा धेरै मूल्यमा खरिद–बिक्री हुने सेयर पनि विदेशी लगानीकै युनिलिभर नेपाल र बोटलर्स नेपाल रहेका छन् । यस्तै, एनसेल, सूर्य नेपाल, डाबर नेपाल, बोटलर्स नेपाल, एसियन पेन्ट्स, गोर्खा ब्रुअरी, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एसबिआई बैंक, एभरेष्ट बैंक, आरती स्ट्रिप्स, होङ्सी शिवम् सिमेन्ट, पेप्सी, केएफसीलगायतले पनि राम्रो प्रतिफल लिइरहेका छन् ।
युनिलिभरले बढायो ७४ प्रतिशतले मुनाफा
गत वर्ष युनिलिभरको सञ्चालन आम्दानी २८ प्रतिशतले बढेर सात अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । जसबाट कम्पनीलाई एक अर्ब ४९ करोड खुद नाफा भयो, जुन अघिल्लो वर्षभन्दा ७४.१७ प्रतिशत बढी हो । स्किन र हेयर केयरका प्रडक्टको बिक्री बढेपछि आम्दानी उत्साहजनक वृद्धि भएको कम्पनीको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।
युनिलिभरले लगानीकर्तालाई आकर्षक लाभांश पनि दिँदै आइरहेको छ । आव ०७७/७८ मा ६ सय ५० प्रतिशत लाभांश दिएको कम्पनीले ०७३/७४ मा १२ सय ७० प्रतिशतसम्म लाभांश दिएको रेकर्ड छ । स्टक मार्केटमा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा धेरै मूल्य प्रतिकित्ता १८ हजार पाँच सयमा युनिलिभरको सेयर किनबेच भएको छ । लन्डनमा मुख्यालय रहेको कम्पनी युनिलिभरले नेपालमा युनिलिभर इन्डियामार्फत ८० प्रतिशत सेयर लगानी गरेको छ, जसले निर्यात व्यापारमा पनि राम्रो योगदान दिइरहेको छ ।
नौ अर्ब ६८ करोड लगानी थप्दै डाबर नेपाल
तीन दशकअघि स्थापना भएको भारतीय बहुराष्ट्रिय कम्पनी डाबर नेपाललाई उद्योगको क्षमता विस्तार र उत्पादन विविधीकरण गर्न लगानी बोर्डले नौ अर्ब ६८ करोड लगानी स्वीकृति दिइसकेको छ । कम्पनीले सन् २०२१ मा १० अर्ब ६९ करोडबराबरको सञ्चालन आम्दानी गरेको रेटिङ एजेन्सी केयररेटिङ्स नेपालले जनाएको छ । डाबर नेपाल भारततर्फ सबैभन्दा धेरै निर्यात गर्ने कम्पनी पनि हो, यसले सन् २०२१ मा ६ अर्ब ८५ करोडको उत्पादन निर्यात गरेको थियो । सन् १९८९ मा उद्योग स्थापना सुरु गरेर १९९२ देखि उत्पादन सुरु गरेको कम्पनीमा डाबर इन्डियाको ९७.५ प्रतिशत र स्व. रुक्मशमशेर राणा परिवारको २.५ प्रतिशत हिस्सा छ ।
चुरोटमा सूर्य नेपालको आधिपत्य
नेपाली चुरोट बजारमा अधिपत्य जमाएको सूर्य नेपालले सन् २०२१ मा नौ अर्ब ४२ करोड खुद नाफा कमाएको छ । केयर रेटिङ्सका अनुसार सूर्य नेपालले २०२१ मा २४ अर्ब ४९ करोडको कारोबार गरेको हो । चुरोट, सलाई, धुपबत्तीलगायत उत्पादन गर्दै आइरहेको कम्पनीको नाफा २०२० मा नौ अर्ब ८५ करोड र २०१९ मा नौ अर्ब ९१ करोड रहेको थियो ।
सूर्य नेपालमा भारतीय आइटिसी कम्पनीको ५९ प्रतिशत, बेलायतको ब्रिटिस अमेरिकन टोब्याको (इन्भेस्टमेन्ट)को २ प्रतिशत र नेपालीहरूको ३९ प्रतिशत सेयर स्वामित्व छ । गत वर्ष सूर्य नेपाल सबैभन्दा बढी कर बुझाउनेमा पहिलो कम्पनी बनेको छ ।
सूर्य नेपालले ६ अर्ब लगानी गरेर बुढानीलकण्ठमा पाँचतारे लक्जरी रिसोर्ट सञ्चालन गर्दै छ । उद्योग विगभाबाट १० असोज ०७८ मा लगानीको स्वीकृति लिइसकेको सूर्य नेपालले ७२ रोपनी जग्गामा एक सय ९० कोठाको होटेल निर्माण गर्न लागेको हो ।
पाँच वर्षमा एनसेलले बुझायो एक खर्ब ४४ अर्ब राजस्व
विदेशी लगानीको दूरसञ्चार कम्पनी एनसेल आजियाटाले सन् २०२१ मा ४० अर्ब ४२ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । एनसेलले २०१८ मा ५९ अर्ब ८२ करोड, २०१९ मा ५५ अर्ब ४० करोड र २०२० मा ४६ अर्ब ८७ करोड रुपैयाँको कारोबार गरेको थियो । इन्टरनेट ब्रोडब्यान्डको हिस्सा बढ्दै गएपछि भ्वाइस सेवाबाट हुने अम्दानीमा गिरावट आउँदा टेलिकम कम्पनीहरूको कारोबार पनि घट्दै गएको हो ।
एनसेलले गत वर्ष मात्रै पौनै आठ अर्बभन्दा बढी कर तिरेर तेस्रो कम्पनी बनेको छ । यो कम्पनीले पछिल्लो पाँच वर्षमा सरकारलाई कर तथा विभिन्न शुल्कबापत एक खर्ब ४४ अर्ब रुपैयाँ राजस्व बुझाएको छ । आइपिओ निष्कासनको तयारी गरिरहेको एनसेलमा ८० प्रतिशत स्वामित्व मलेसियाको आजियाटा ग्रुप र २० प्रतिशत नेपाली साझेदार सुनिभेरा क्यापिटल भेन्चरको छ ।
पेन्ट्समा पनि अग्रणी
नेपालको पेन्ट्स बजारमा अग्रणी एसियन पेन्टस्ले २०२१ मा सात अर्ब ३० करोड सञ्चालन आम्दानी गरेको छ । कम्पनीले २०२० मा पाँच अर्ब ३१ करोड र २०१९ मा ६ अर्ब १६ करोड ७० लाखको कारोबार गरेको थियो । यो कम्पनीले इमल्सन, डिस्टेम्पर, नाइफिङ पेस्ट, साल्भेन्ट, प्राइम अन्डरकोटलगायत पेन्ट उत्पादन गर्दै आइरहेको छ । विदेशी ब्रान्ड ब्रर्जर र कन्साई नेरोल्याक पनि राम्रो गर्दै आइरहेका छन् ।
सिमेन्टको मूल्य घटाउने होङ्सी
नेपालमा सिमेन्टको मूल्य घटाउन होङ्सी शिवम् सिमेन्टको महत्वपूर्ण योगदान छ । हङकङको बहुराष्ट्रिय कम्पनी रेड लायन सिमेन्टको ठूलो लगानी रहेको होङ्सीले २०२० मा १३ अर्ब ३७ करोड र २०१९ मा १३ अर्ब ४८ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको थियो । देशकै ठूलो सिमेन्ट उद्योग होङ्सीले सेप्टेम्बर २०१५ देखि सिमेन्ट र क्लिंकर उत्पादन सुरु गरेको हो । यस उद्योगमा रेड लायनको ७० प्रतिशत र शिवम् होल्डिङको ३० प्रतिशत स्वामित्व छ । यस उद्योगको क्षमता बढाएर दैनिक १२ हजार मेट्रिकटन पुर्याउने लक्ष्य छ ।
वरुण बेभरेजको आकर्षक आम्दानी
पेप्सी, माउन्टेन ड्यु, स्लाइस, मिरिन्डा, ७–अप, सोडालगायत पेय पदार्थ उत्पादन गर्दै आइरहेको वरुण बेभरेजले पनि आकर्षक आम्दानी गरिरहेको छ । यो कम्पनीले २०२० मा पाँच अर्ब १४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ कम्पनीले जनाएको छ । यस्तै, अघिल्लो वर्ष २०१९ मा ६ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् १९८५ मा स्थापित वरुण बेभरेज (नेपाल) प्रालि बहुराष्ट्रिय अमेरिकन कम्पनी पेप्सीको आधिकारिक बोटलर कम्पनी हो ।
गन्तव्य विस्तारमा केन्द्रित हिमालय
तिब्बतीयन लगानी रहेको हिमालय एयरलाइन्सले सन् २०१४ मा काठमाडौंलाई बेस बनाएर अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । सन् २०२२ को पहिलो ६ महिनामा त्रिभुवन विमानस्थलबाट १५ लाख १५ हजार यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । जसमध्ये हिमालयले एक लाख ८५ हजार चार सय १३ यात्रु बोकेर तेस्रो बन्न सफल भएको छ । अहिले हिमालयसँग तीनवटा एयरबस ३२०–२१४ र एउटा ३१९–११५ जहाज रहेका छन्, जसबाट युएई, मलेसिया, कतार, साउदी अरेबिया, बंगलादेश, चीन, कुवेतलगायत देशमा उडान भइरहेको छ ।
केन्टुकी फ्रायड चिकेन (केएफसी) देशैभर फैलिन थालेको छ । अहिले केएफसीका आउटलेट उपत्यकासहित पोखरा, नेपालगन्ज, बुटवल, चितवन, इटहरी, हेटौँडालगायत ठाउँमा खुलिसकेका छन् । यस्तै, गत वर्ष मात्रै बहुचर्चित चेन रेस्टुराँ हार्ड रक क्याफे दरबारमार्गमा भित्रिएको छ । पाँचतारे होटेलको व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय चेन होटेल आउने क्रम बढ्दो छ । नेपालमा उत्पादन हुने वार्सटाइनर, बडवाइजर, काल्र्सबर्ग र टुबोर्ग बियरका मार्केट प्लेयर नै हुन् ।
पेय पदार्थमा वर्षमै २२ अर्बको कारोबार
गत आर्थिक वर्ष मात्रै बोटलर्स नेपालले २१ अर्ब ८६ करोड सञ्चालन आम्दानी तथा एक अर्ब ५६ करोड खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ९० करोड २६ लाख नाफा कमाएको थियो । स्टक मार्केटमा बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) सूचीकृत छन् ।
गत वर्ष बोटलर्स नेपाल (बालाजु)ले १२ अर्ब ६४ करोड सञ्चालन आम्दानी र ८७ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । त्यस्तै, बोटलर्स नेपाल (तराई)ले गत वर्ष नौ अर्ब २२ करोड सञ्चालन आम्दानी र ६८ करोड ३१ लाख खुद नाफा गरेको छ । बहुराष्ट्रिय कम्पनी कोकाकोलाको लगानी रहेको बोटलर्स नेपाल स्टक मार्केटमा पनि ‘ब्लुचिप’ कम्पनी हो । बोटलर्स नेपाल (तराई)को पछिल्लो कारोबार प्रतिकित्ता १३ हजार पाँच सय ८५ रुपैयाँमा भएको छ । बोटलर्स नेपालमा ७६ प्रतिशत सेयर स्वामित्व विदेशी लगानीकर्ताको, २२ प्रतिशत गोरखा ब्रुअरी र २ प्रतिशत सर्वसाधारणको छ ।
विदेशी लगानीका बैंकहरू उत्कृष्ट
नेपालका करिब आधा दर्जन वाणिज्य बैंकमा विदेशी लगानी रहेको छ । विदेशी लगानीको स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा गत वर्ष खुद ६२ प्रतिशतले बढेर दुई अर्ब २६ करोड ९८ लाख पुगेको छ । नबिल बैंकले गत वर्ष चार अर्ब ९७ करोड नाफा कमाएको छ । नबिलले हालै गाभेको एनबी बैंकले पनि गत वर्ष एक अर्ब दुई करोड रुपैयाँ नाफा गरेको छ । लगानीकर्तालाई आकर्षक लाभांश दिनेमा पनि सबैभन्दा अगाडि नबिल बैंक नै रहेको छ ।
नेपाल एसबिआई बैंकको नाफा ७० प्रतिशतले बढेर एक अर्ब ६३ करोड ८२ लाख पुगेको छ । यस्तै, पन्जाब नेसनल बैंकको लगानी रहेको एभरेष्ट बैंकको नाफा करिब ४४ प्रतिशतले बढेर दुई अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।