उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालले सरकारी कर्मचारीले सेवाग्राहीलाई सेवा दिनुपर्ने समयमा कार्यालयभन्दा बाहिरी कार्य र गतिविधिमा नलाग्न आग्रह गरकी छन्। शुक्रबार नेपाल राष्ट्रिय कर्मचारी महासंघ, जिल्ला समिती ललितपुरको चौँथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भुसालले कर्मचारीले सेवाग्राहीलाई दिनुपर्ने समयको ख्याल गर्नुपर्ने बताएकी हुन्।
मन्त्री भुसालले कर्मचारीको पेशागत सुरक्षाका लागि कर्मचारी महासंघले प्रभावकारी भुमिका खेलेको भन्दै यसमा सरकारी आवश्यक सहयोग समेत गरिरहेको बताइन्।
‘कर्मचारीको सेवा पारदर्शी हुनुपर्छ, सङ्घीय गणतान्त्रिक मुल्य मान्यतालाई ख्याल गरेर कर्मचारीले काम गर्नुपर्छ,’ उनले भनिन्, ‘राष्ट्र सेवक कर्मचारीका अधिकारको लागि म र मेरो मन्त्रालय प्रतिबद्ध छ।’
तर कतिपय कर्मचारी राजनीति स्वार्थ समेत बोकेर हिड्दा त्यसले प्रशासनिक विकृती ल्याएको टिप्पणी गरिन्। उनले सरकारी कर्मचारी सेवा प्रवाहमा नमुना बन्ने हो भने सेवाग्राहीलाई सहज हुने र त्यसले प्रशानिक सुधार ल्याउने बताइन्। मन्त्री भुसालले २०७५ मा आएको संघीय निजामती ऐनलाई कार्यान्वयन भन्दा पनि संशोधन गर्नुपर्ने बताइन्। उक्त ऐनमा विशिष्ट श्रेणीका कर्मचारी करारमा ल्याउने व्यवस्था गर्दा उचित हुने उनको भनाई छ।