करिश्माविरुद्ध उजुरी दिँदै निहारिका, सहयोग रकम पनि फिर्ता गर्ने

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

न्यायकाे माग गर्दै नाबालक छाेरा लिएर निरन्तर लडिरहेकी ‘कुमारी आमा’ निहारिका राजपुतले नायिका करिश्मा मानन्धरविरुद्ध उजुरी दिने भएकी छिन्। आफ्ना निजी तस्बिरहरू सार्वजनिक गरेकाले करिश्मामाथि आजै साइबर क्राइमको मुद्दा हाल्ने तयारी गरेको निहारिकाले नयाँ पत्रिकालाई बताएकी छिन्।

अनशनस्थलमा पुगेर निहारिका र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहेको बताएकी करिश्माले केही दिनअघि निहारिका र आरोपित शिवराज श्रेष्ठका तस्बिरहरू सामाजिक सञ्जालमा राखेकी थिइन्। चरित्रहत्या गर्ने गरी आरोपितसँगको आफ्ना निजी तस्बिर विनाअनुमति सामाजिक सञ्जालमा सार्वजनिक गरेकोकाले मुद्दाको विकल्प नरहेको निहारिकाले बताएकी छिन्।

आफू अनशनमा रहेको वेला करिश्माले सहयोगका नाममा पठाएको २० हजार रुपैयाँसमेत आजै फिर्ता गर्ने उनले बताइन्। अहिले सो रकम फिर्ता गर्न करिश्माको घर जान लागेको र उतैबाट मुद्दा हाल्न जाने उनले प्रस्ट पारेकी छिन्।

निहारिकाले बलात्कारविरुद्धको आफ्नो अभियानमा  बलात्कारबाट बच्चा जन्माएका थप कुमारी आमाहरूसँग भेट्न महोत्तरी आउने तयारीसमेत रहेको बताइन्। अब आफ्नो लडाइँ आफू र आफ्नो बच्चाका लागि मात्र नभई सम्पूर्ण कुमारी आमाहरूको हकका लागि हुने बताइन्।

आफू १७ वर्षको हुँदा शिवराजले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसैबाट जन्मेको छोरा २३ महिनाको भइसक्दासमेत न्याय नपाएपछि उनी न्यायका लागि निरन्तर लडिरहेकी छिन्।

सुझावित समाचार