सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न बंगलादेश तयार

बुधबार, ८ भदौ, २०७९
डिजिटल संस्करण

६८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ। बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन गरी आयोजना अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको जनाएकाे हाे।

स्थलगत अवलोकन भ्रमण टाेलीमा नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूसमेत थिए। अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिकाको लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोसी तेस्रोलगायतका जलविद्युत् आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताए। आयोजनाको अनुमानित लागत एक अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ।

‘दुई देशको लगानीमा पाइलट परियोजनाको रूपमा सुनकोसीलाई अगाडि बढाउन बंगलादेश तयार छ, आयोजनामा लगानीका लागि बंगलादेश इमानदार र गम्भीर छ,’ उनले भने,  ‘सुनकोसी तेस्रो मात्र होइन, दोलखा र रामेछापमा पहिचान भएका एक हजार सात सय २० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त अर्को आयोजनामा समेत लगानी गर्न इच्छुक छौँ। यसका अतिरिक्त बंगलादेशका निजी क्षेत्रले समेत नेपालका निजी क्षेत्रसँग सहकार्य गरी आयोजनाहरूमा लगानी गर्न सक्छन्।’

नेपालले २५ साउन ०७५ मा भएको संयुक्त कार्यदल र  निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत् क्षेत्रमा सहकार्यका लागि पाँचवटा जलविद्युत् आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो। बैठकमा पहिलो चरणमा सुनकोसी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रूपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो।

सुनकोसी आयोजना नेपाल र बंगलादेशको लगानीमा निर्माण गरिने विषय प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ता आयोजना दुई मुलुकबीच सहकार्य गरी निर्माण गरिनुपर्नेमा जोड दिए।

विद्युत् विकास विभागले विभागले आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरी स्वीकृतिको प्रक्रियामा रहेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोसी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५ मा आयोजनाको पहिचान गरेको थियो। जाइकाले गरेको अध्ययनलाई सन् २०१४ मा अद्यावधिक गरिएको थियो।

बिपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिको सिमानामा पर्ने लुभुघाटमा एक सय ८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिनेछ। आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ। जसअनुसार सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिनेछ।

इआइए प्रतिवेदनअनुसार आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरू प्रभावित हुनेछन्। आयोजनाबाट तीन हजार दुई सय ३७ हेक्टर जग्गा डुबानमा पर्नेछ। यसका लागि तीन हजार पाँच सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ भने ६ सय ५५ हेन्टर वन क्षेत्रको जग्गा पर्नेछ। आयोजनाबाट ११ हजार सात सय जनसंख्या विस्थापित हुने देखिएको छ। वार्षिक दुई अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुने बताइएको छ।

सुझावित समाचार