काठमाडौं । स्वदेशमै निर्मित जेडपाल ब्रान्डका कुर्सी बजारमा आएका छन्। ०७६ सालदेखि फर्निचर उत्पादन क्षेत्रमा काम गरिरहेको खड्का फर्निचरले आधुनिक, आरामदायक तथा गुणस्तरीय अफिस कुर्सी नेपाली बजारमा ल्याएको हो।
जेडपाल ब्रान्डको बजार विस्तार, प्रचारप्रसार तथा प्रवर्द्धनका लागि खड्का फर्निचरले हास्यव्यंग्य कलाकार मनोज गजुरेललाई अनुबन्ध गरेको छ। गजुरेलको आबद्धताले स्वदेशी उत्पादनप्रति आमउपभोक्ताको विश्वास अभिवृद्धि हुने तथा नेपाली ब्रान्डलाई थप परिचित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ।
नेपाली बजारमा उपलब्ध सामान्य कुर्सीभन्दा फरक पहिचान स्थापित गर्ने उद्देश्यले जेडपाल कुर्सीको निर्माणमा विशेष ध्यान दिइएको खड्का फर्निचरले जनाएको छ। विशेषगरी यसमा प्रयोग हुने हार्डवेयर, कच्चा पदार्थ तथा अन्य आवश्यक पार्टपुर्जाको गुणस्तरलाई उच्च प्राथमिकता दिएको बताइएको छ।
खड्का फर्निचरले अफिस कुर्सी मात्र नभई नेपालमै उत्पादन हुने अन्य वस्तुहरूको प्रयोगलाई समेत प्राथमिकता दिन सम्पूर्ण नेपाली उपभोक्तामा अनुरोध गरेको छ। स्वदेशी उत्पादनको प्रयोगले नेपाली उद्योगको विकास, रोजगारी सिर्जना, सिप तथा प्रविधिको विस्तार र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने कम्पनीको विश्वास छ।