गिरिको निधनमा बस्तीपुर र गोविन्दपुर शोकमा

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता एवं सिराहा क्षेत्र नम्बर १ का सांसद प्रदीप गिरिको निधनमा सिराहाको बस्तीपुर र गोविन्दपुर गाउँ शोकमा डुबेको छ। आफ्ना अभिभावक नेता गुमाउँदा लहान नगरपालिका वडा नं १४ र २४ का गाउँवासी शोकमा डुबेका छन्। ‘गाउँमा सन्नाटा छाएको छ,’ गोविन्दपुरकी ७४ वर्षीया मीरादेवी ठाकुरले भनिन्, ‘हामीले मुख हेर्न पनि पाएनौँ।’

गोविन्दपुरका ७२ वर्षीय बनारसी ठाकुरले पनि आफ्ना नेताको मुख हेर्न नपाएकोमा दुःख व्यक्त गरे।  गाउँमै दाहसंस्कार गर्ने नेता गिरिको चाहाना पूरा नभएकोमा पनि उनीहरूको गुनासो छ।  ‘आश्रममै दाहसंस्कार गरेको भए गाउँवासीले मुख हेर्न पाउँथ्यौँ,’ स्थानीय रामकृष्ण चौधरीले भने, ‘हामीसँग कुरा हुँदा आफ्नो निधन भएमा आश्रममै दाहसंस्कार गर्नु भन्नुहुन्थ्यो। अहिले मुख हेर्न नपाउने अवस्था भयो।’

विद्यालयमा शोकसभा
बस्तीपुर माध्यमिक विद्यालयमा शोकसभा आयोजना गरिएको थियो। विद्यार्थी र शिक्षकले गिरिको निधनमा एक मिनेट मौनधारण गरेकाे विद्यालयका प्रधानाध्यापक देवेन्द्रप्रसाद यादवले बताए।

नेता गिरिले सोही विद्यालयवाट ०१८ सालमा प्रवेशिका परीक्षा (एसएलसी) प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए। नेता गिरिको शनिबार राति साढे ९ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे ।

सुझावित समाचार