राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक जस्ताको तस्तै पारित

बिहिबार, २ भदौ, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाको आजको बैठकले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाले दोस्रोपटक नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित गरेको हो । 

संसद्का दुवै सदनबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । 

प्रतिनिधिसभामा आज उपस्थित १९५ सांसदमध्ये विधेयक पारित गर्ने पक्षमा १३५ सांसदले मत दिए भने विपक्षमा ६० सांसदले मत दिए । अब राष्ट्रिय सभाले पनि पारित गरेपछि यो विधेयक दोस्रोपटक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पुग्नेछ । 

दोस्रोपटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ११३ मा त्यस्तो व्यवस्था उल्लेख छ । 

सुझावित समाचार