नेकपा (माओवादी केन्द्र)की सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाएकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संघीय संसदबाट पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले फिर्ता पठाएको भन्दै यस्तो आरोप लगाएकी हुन् ।
सांसद बिशंखेले सांसदहरूलाई विवेक प्रयोग गर्न सक्ने हिम्मत देखाउन चुनौतीसमेत दिइन् । नागरिकतामा राजनीति गर्नु नहुने भन्दै सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने उनले बताइन् । नेपाली नागरिकसँग विवाह गर्नेलाई उसले बस्न चाहेमा वा नचाहेमा पनि सहज रूपमा नागरिकता दिनुपर्ने उनको भनाइ थियो ।
‘एउटै विषयलाई नेकपामा हुँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा अर्कै किन ? विवेकको प्रयोग गरौँ । मेरो प्रश्न र चुनौती छ– विवेकको प्रयोग गर्न सक्नुहुन्छ ? ठूला बहस गर्नेलाई मेरो चुनौती छ,’ नागरिकता विधेयकबारे चलिरहेको बहसबारे उनले भनिन्, ‘सम्मानित राष्ट्रपतिजस्तो पदमा बसेर त विवेकको प्रयोग गर्न सक्नुभएन । अरूको के कुरा गर्ने ।’