सवारीसाधनमा छुटेको १६ लाख बढीकाे सामान सम्बन्धित व्यक्तिलाई बुझाइयो

बुधबार, १ भदौ, २०७९
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा गत साउन महिनामा सवारीसाधनमा छुटेको १६ लाख ६४ हजारबराबरको सामान खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ । गएको साउन महिनाभित्र उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखामा ५२ जनाले आफ्नो महत्त्वपूर्ण सामान हराएको भनी निवेदन दिएका थिए । निवेदनको आधारमा ट्राफिक प्रहरीले खोजतलास सुरु गरेको थियो । 

सोही क्रममा सिसिक्यामेराको समेत प्रयोग गरेर ३३ जनाको १६ लाख ६४ हजारबराबरको सामान फेला पारी सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले बुझाइसकेको छ । सामान छुटेका ११ वटा सवारीसाधन फेला परिसकेको तर त्यसमा छुटेका सामान भने फेला पर्न नसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाले जनाएको छ । सवारीसाधनमा छुटेका ८ जना यात्रुको सामानबारे भने अहिले अनुसन्धान भइरहेको छ। 

सवारीसाधनमा कुनै पनि सामान छुटेमा सवारीसाधनको नम्बर वा रङ र छुटेका सामानको विवरणसहित निवेदन दिन सकिने काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

सुझावित समाचार