तरकारीको बोराभित्र लुकाएर डोलेक्स तस्करी

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

तराईदेखि पहाडसम्म फैलिएको गिरोहका नौ सदस्य पक्राउ 

भारतीय सिमानाका हुँदै नेपाल भित्रिने तरकारीको बोराभित्र अवैध लागुऔषध तस्कर हुने गरेको खुलेको छ । हरियो तरकारी ‘प्याकिङ’ बोराभित्र लागुऔषध डोलेक्स (डिसी) बरामद भएपछि यो तथ्य खुलेको हो । 

लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले सोमबार सर्लाहीमा प्रदेश २–०३–०११ च २५०९ नं. मिनिट्रक नियन्त्रणमा लिएको थियो । ट्रकभित्र रामतोरिया, प्याज, झिगनी ‘प्याकिङ’ गरिएका बोरा थिए । बोराभित्र नौ सय ४७ बोतल डोलेक्स बरामद भएको छ । उक्त ट्रक भारतीय नाका हुँदै नेपाल प्रवेश गरेको थियो । डोलेक्स सर्लाही ईश्वरपुर नगरपालिका–६ का २१ वर्षीय सन्तोष भनिने विपिन कुशवाहाले ल्याएका थिए । 

ट्रकचालक रौतहट गरुडा नगरपालिका–९ का २५ वर्षीय सुभाष राय यादव र १९ वर्षीय मोहम्मद आसफाक आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ । ब्युरो प्रमुख एसएसपी विकासराज खनालका अनुसार बरामद लागुऔधष रौतहट डुमरियाका–२ का ४६ वर्षीय किशोर चौलागाईंलाई उपलब्ध गराउन भारतीय नाका पार गरी नेपाल भित्र्याइएको थियो । उपभोक्तासम्म लैजाने काम भने चौलागाईंले गर्दै आएका थिए । ‘तरकारीको बोराभित्र लुकाएर डोलेक्स ल्याउने गिरोहका नौजना पक्राउ परेका छन् । त्यसमध्ये केही सेवनकर्ता र बाँकी सबै तस्कर छन् । अनुसन्धान सकिएको छैन,’ एसएसपी खनालले भने ।

दुर्व्यसनी पछ्याउँदा तस्कर फेला 
उपत्यकाभित्र डोलेक्सको दुर्व्यसनी बढेको सूचनापछि सूक्ष्म निगरानीमा रहेको प्रहरीले जनाएको छ । दुर्व्यसनी पछ्याउँदै जाँदा प्रहरीले ताप्लेजुङ मेरिङदेन गाउँपालिका–५ का ३३ वर्षीय तुलसा खड्कालाई तीन सय मिलिलिटर डोलेक्ससहित पक्राउ गर्यो । उनको साथबाट कोडिन, नाइट्रभेट, प्रोकिसभनलगायतका अन्य लागुऔषध पनि फेला परेका छन् । प्रहरीले स्रोत खोज्यो । उनलाई उक्त लागुऔषध सुनसरी बराह नगरपालिका–७ का २७ वर्षीय युवराज खड्काले दिने गरेको खुल्यो । प्रहरीले उनलाई पनि पक्राउ गर्यो । अनुसन्धान गर्दै जाँदा उनले रौतहट डुमरियाका–२ का ४६ वर्षीय किशोर चौलागाईंमार्फत लागुऔषध ल्याउने गरेको खुल्यो ।

प्रहरीले जब चौलागाईंलाई पक्राउ गर्यो, तब तरकारीको बोराभित्र लुकाएर लागुऔषध तस्कर हुने गरेको तथ्य खुलेको हो । ‘दुर्व्यसनी भेटिएपछि डोलेक्सको स्रोत खोज्दै गयौँ । घटनासँग जोडिएका एकपछि अर्को तथ्य खुल्दै गए । अभियुक्त पक्राउ पर्न थालेपछि तरकारीको बोराभित्र लुकाएर लागुऔषध तस्कर हुने गरेको तथ्य खुल्यो,’ खनालले भने । प्रहरीका अनुसार किशोरले लागुऔषध डोलेक्स सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिका–१ का मानबहादुर तामाङबाट पनि लिने गर्थे ।

मानबहादुरले भने गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँका बुद्धबहादुर बम्जनबाट लागुऔषध लिन्थे । मानबहादुरले सर्लाही हरिवन नगरपालिका–३ का ४२ वर्षीय रतन मोक्तान र २८ वर्षीय दीपक श्रेष्ठबाट पनि डोलेक्स खरिद गर्दै आएका थिए । उनीहरूबाट करिब ११ लाख ८० हजार रुपैयाँ मूल्यबराबरको ११ सय ८० बोतल डोलेक्स बरामद भएको छ । 

के हो डोलेक्स ? 
डोलेक्स रुघा, खोकी, नाक तथा घाँटीको एलर्जीजस्ता समस्या हुँदा खाने औषधि हो । चिकित्सकको सिफारिसविना यो औषधि प्रयोग गर्न पाइँदैन । समस्या हुँदा ४ देखि १० एमएलसम्म खान मिल्ने यो औषधि अत्यधिक प्रयोग गर्दा शरीर लठ्ठिने, मात लाग्ने जस्ता लक्षण शरीरमा देखा पर्छ । जसले सेवनकर्तालाई भ्रमित तुल्याउँछ ।

See More On

सुझावित समाचार