जिल्ला कारागारमा खचाखच कैदी, दुई कराेडकाे खुला कारागारमा बाख्रा पालन

शनिबार, १४ साउन, २०७९
डिजिटल संस्करण
जिल्ला कारागारमा खचाखच कैदी, दुई कराेडकाे खुला कारागारमा बाख्रा पालन

साढे दुई वर्ष अघि बाँकेको गनापुरमा निर्माण गरिएको खुला कारागार ।

बाँकेको जानकी गाउँपालिका–६, गनापुरमा रहेको खुला कारागार भवन प्रयोगविहिन भएपछि गौचरनमा परिणत भएको छ । पौने दुई करोड लागतमा बनेकाे ३६ कोठे खुला कारागार भवन हाल चौकीदारले बाख्रा बाँध्नका लागि प्रयाेग गर्दै आएका छन् । 

भवन प्रयोगमा नआएकोले केही समयका लागि शौचालयलगायत अन्य कोठामा बाख्रा बाँध्ने गरेको चौकीदार जगराम चौहानले बताए । ‘बर्षातले बाख्रा बाँध्ने ठाउँ छैन । पानी रोकिएपछि बाहिर बाँध्छु,’ उनले भने, ‘अहिले काम चलाउका लागि शौचालय र अन्य कोठामा बाँध्ने गरेको छु ।’ 

कैदी बस्ने खुला कारागारमा १८–१८ कोठाका दुईवटा भवन छन् । दुई  भवनमा प्रत्येकमा ६ वटाका दरले १२ वटा शौचालयका  छन् । खुला कारागार परिसरमा १८ कोठाको साढे दुईतले प्रशासनिक भवन पनि छ । करिब ११ वर्षअघि बनेको प्रशासनिक भवन र अढाई वर्षअघि बनेको कारागार भवन एकजना चौकीदारको भरमा छोडिएको छ । ती चौकीदार एक्लैले हेरचाह गर्न नसकेका कारण दुवै भवन जीर्ण भएका छन् । ‘प्रशासनिक भवनको दिवालमा लगाएको सिमेन्ट झर्न थालेको छ,’ चौकीदार चौहानले भने । 

राज्यको पौन दुई करोड लगानी, बालुवामा पानी
कारागार भवनहरूमा जडान भएको विद्युत् पनि काटिएको छ । विद्युतको बिल तिर्ने रकम नभएपछि विद्युत् प्राधिकरणले लाइन काटेको बाँके जिल्ला कारागार प्रमुख जेलर रामकुमार सोनकरले बताए । उनले संरचना निर्माण भए पनि खुला कारागार सञ्चालन कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकेको बताए । 

कारागारमा खाने पानीसमेत नरहेको प्रमुख जेलर सोनकरले  बताए । खुला कारागारलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भए पनि सञ्चालन कार्यविधि नबनेका कारण कारागार विभागले त्यहाँ कैदी राख्न नसकेको उनको  भनाइ छ । 

दुईतिहाइ कैद भुक्तान गरेका कैदीलाई राख्न खुला कारागार स्थापना
दुईतिहाइ कैद भुक्तान गरिसकेका र आचारण सुधार भएका कैदीलाई निश्चित सर्तको आधारमा खुला कारागारमा राख्ने अवधारणाअनुसार बाँकेको गनापुरमा खुला कारागार स्थापना गरिएको प्रमुख जेलर सोनकरले बताए । ‘सञ्चालन कार्यविधि नबन्दै हतारमा भौतिक संरचना निर्माण गर्दा खुला कारागारको संरचना बेवारिसे अवस्थामा छ,’ उनले भने ।   
संरचना निर्माण भएको ठाउँमा खुला कारागारको ६ विघा र तत्कालीन कृषि ज्ञान केन्द्रका दुई बिघा जमिन छ । उक्त जमिनमा सरकारले तारबारसमेत गरेको छ । त्यहाँ राखिएका कैदीलाई त्यहीँ जमिन खेतीका लागि दिने नीति अघि सारिएको थियो । ‘कैदीले दिनभरि खेतीपातीको काम गर्ने र बेलुकी खुला कारागारमा आएर हाजिरी लगाउने र त्यहीँ बस्ने अवधारणाका साथ खुला कारागार बनाइएको हो,’ सोनकरले भने । 

सोनकरले आधा दर्जनपटक सुझाब पठाए पनि कारागार विभागले अहिलेसम्म कुनै निर्णय नगरेको बताए । उनका अनुसार विभागबाट निर्देशन र कार्यविधि नबनाउँदा सञ्चालनमा समस्या आएको हो । ‘अदालतसँग परामर्श लिएर ७५ प्रतिशत कैद भुक्तान गरेकालाई खुला कारागारमा राख्ने भनिएको थियो । तर, निर्माण भएका संरचना संरक्षण गर्न गाह्रो भएको छ,’ उनले भने, ‘चौकीदारलाई दिने रकमसमेत हामीसँग छैन । संरक्षण कसरी गर्नु ?’ 

जिल्ला कारागारमा खचाखच कैदी
बाँके जिल्ला कारागारमा सात सय ५६ जना कैदीबन्दी छन् । तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५६ जना कैदी–बन्दीलाई व्यवस्थापन गर्न समस्या भएको प्रमुख जेलर सोनकरले बताए । जिल्ला कारागारमा रहेका केही कैदीलाई गनापुरको खुला कारागारमा पठाउन सकेको भए कैदीबन्दी व्यवस्थापन सहज हुने उनको भनाइ छ । उनले  भने, ‘बनेको संरचना खाली छ । जीर्ण भएको कारागारमा ठाउँ नभएर बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता छ ।’

उनले खुला कारागार सञ्चालन र संरक्षणका लागि नीति तथा कार्यविधि तयार गर्न सरकारसँग मागसमेत गरे । 

See More On

सुझावित समाचार