नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले प्रदान गर्ने नेपाल वित्तीय प्रतिवेदनमान प्रणालीमार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थालाई प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार ०७७/७८ का लागि मुक्तिनाथ विकास बैंकले पाएको छ । बैंकले लगातार तेस्रो वर्ष यो पुरस्कार पाएको हो ।
आइक्यानले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न पाँच समूहमा प्रदान गर्ने गरेको छ । ती समूहहरूमा बैंकिङ क्षेत्रअन्तर्गत वाणिज्य बैंक समूह, वित्तीय क्षेत्रअन्तर्गत विकास बैंक र वित्त कम्पनी समूह, बिमा क्षेत्र, सार्वजनिक निकाय र सामान्य क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरूमध्येबाट मुक्तिनाथले वित्तीय क्षेत्र विधाको सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको हो ।
अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले लिएका थिए । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त पुरस्कारलाई अतिप्रतिष्ठित पुरस्कार मानिने गरिएको बैंकको दाबी छ ।
विश्व हिन्दू महासंघलाई सहयोग
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विश्व हिन्दू महासंघ स्याङ्जा जिल्ला शाखाले प्रकाशन गर्ने ‘वैदिक सभ्यता’ नामक पुस्तकको प्रकाशनका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका उपक्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नवीन काफ्ले, अन्य आधिकारिक सदस्यहरू, वालिङ नगरपालिकाका नगर उपप्रमुख कविता तिवारी र विश्व हिन्दू महासंघ जिल्ला शाखा स्याङ्जाका अध्यक्ष, उपाध्यक्षलगायतको उपस्थिति थियो ।