सिएनआईको प्रतिवेदन भन्छ– औद्योगिक क्षेत्रको आय वृद्धिदर १४ प्रतिशत घट्यो

मंगलबार, ३ साउन, २०७९
डिजिटल संस्करण

देशमा देखिएको तरलता संकटको असर औद्योगिक क्षेत्रमा पनि देखिएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई)ले सोमबार सार्वजनिक गरेको औद्योगिक गतिविधिको अध्ययन प्रतिवेदनले आर्थिक वर्ष ०७८/७९ को तेस्रो त्रैमाससम्म उद्योगको उत्पादन क्षमता, आम्दानी वृद्धिदरलगायतका सूचकमा ह्रास आएको देखाएको हो ।

परिसंघले माघ, फागुन र चैतमा ७१ उद्योगमा औद्योगिक गतिविधि सम्बन्धमा अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरेका छन् । अध्ययनले तेस्रो त्रैमासमा उद्योगहरूको आय वृद्धिदर ठूलो मात्रामा घटेको देखाएको छ । आर्थिक वर्षको दोस्रो त्रैमासमा उद्योगहरूको आय वृद्धिदर २७ दशमलव १ प्रतिशत थियो । तर, तेस्रो त्रैमासमा आम्दानी वृद्धिदर १४ दशमलव २८ प्रतिशत बिन्दुले घटेर १२ दशमलव ८२ प्रतिशतमा सीमित भएको छ । आर्थिक गतिविधि घट्दा औद्योगिक उत्पादनको मागमा गिरावट आएको परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए । उनले भने, ‘अहिले बजारको माग घटेर उद्योगहरूको आय घटेको अवस्थामा छ । यस विषयमा सरकार गम्भीर हुनुपर्छ ।’

सो अवधिमा उद्योगहरूको उत्पादन क्षमता चार दशमलव १९ प्रतिशत बिन्दुले घटेको छ । दोस्रो त्रैमासमा उद्योगहरूको उत्पादन क्षमता ७१ प्रतिशत थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा त्यो क्षमता ६६ दशमलव ८१ प्रतिशतमा सीमित भएको छ । समीक्षा अवधिमा उत्पादनमूलक उद्योगले औसतमा १० दशमलव ९६ प्रतिशतको दरमा ब्याज तिरेका छन् । गत आवको सोही अवधिमा भने उनीहरूले ९ दशमलव ४ प्रतिशत औसत ब्याज तिरेका थिए । यसैगरी, सेवा क्षेत्रका उद्योगले १० दशमलव ९२ प्रतिशत ब्याज तिरेका छन् । 

समीक्षा अवधिमा उत्पादनमूलक उद्योगहरूको चालू पुँजीमा ऋणको हिस्सा भने घटेको छ । दोस्रो त्रैमासमा उद्योगहरूले चालू पुँजीको ३४ दशमलव ४ प्रतिशत ऋण लिएका थिए । तेस्रो त्रैमाससम्म आउँदा चालू पुँजीको ३१ प्रतिशत ऋण लिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, अध्ययनमा सहभागीमध्ये ८२.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार भएको पनि देखिएका छन् । प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री दिलेन्द्रप्रसाद बडूले यस प्रकारको नियमित औद्योगिक प्रतिवेदनले नेपालको औद्योगिक वातावरणको चित्रण गर्न सहयोग पुग्ने बताए । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनलाई हरेक त्रैमासमा प्रकाशन गर्दै लैजाने उनले बताए । 

सुझावित समाचार