नागरिकता विधेयकप्रति सांसद भुसालको असन्तुष्टि

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

सत्तारूढ दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले आमाको नाममा पनि नागरिकता दिने संवैधानिक व्यवस्थालाई नसमेटी ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ ल्याएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सचेतक भुसालले बुबाको पहिचान नभएका बालबालिकालाई पनि आमाको नामबाट वंशजको नागरिकता दिने संविधानमा उल्लेख गरिएको विषयलाई पनि सरकारले सो संशोधन विधेयकमा स्पष्टसँग समेट्न नसकेको बताइन् । 

तेस्रोलिंगीले पनि नागरिकता पाउने अधिकारलाई सो संशोधन विधेयकले बेवास्ता गरेको उल्लेख गर्दै त्यसको स्पष्ट व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराइन् । 

‘अहिलेको संविधानमा बाबुको पहिचान नभएमा आमाको नामबाट वंशजको नागरिकता दिने भनेर स्पष्ट रूपबाट व्यवस्था गरेको छ । तर, अहिलेको संशोधनमा आउँदै जाँदाखेरि बच्चा र आमाको अधिकारमाथि ठूलो प्रश्नचिह्न खडा गरिएको छ । कम्तीमा आमा र बालबालिकाको अधिकारलाई त्यो स्वाभिमानलाई बचाउन त्यो आवश्यक छ,’ उनले भनिन्, ‘तेस्रोलिंगीले नागरिकता पाउने कुरालाई पनि यो संशोधन विधेयकले समेट्न सकेको छैन । म यस सम्बन्धमा नेपाल सरकार गृहमन्त्रीजीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सुझावित समाचार