हिमाली र पहाडी भेगमा बनाइएका ११ आन्तरिक विमानस्थलमा उडान गर्न जोखिमपूर्ण रहेको महालेखापरीक्षकको कार्यालयले ठहर गरेको छ । मसिनेचौर–जुफाल, गुल्मी, ओखलढुंगाको खिजी, चण्डेश्वरी रामेछाप, फाप्लु–कागेलडाँडा, रुम्जाटार, कालिकोट–साँफेबगरलगायत विमानस्थलमा उडान समस्या आउने महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
हिमाली र पहाडी क्षेत्रमा साधारणतया २० नटिकल माइल र तराई तथा भित्री मधेसमा कम्तीमा ४० नटिकल माइलमा विमानस्थल हुनुपर्छ । तर, ११ विमानस्थलमा ५.८२ देखि १९.३५ नटिकल माइलसम्मको दूरीमा रहेकाले उडानमा समस्या आउने महालेखाले ठहर गरेको हो । यी नयाँ विमानस्थल निर्माणमा भएको लगानी उपयोग नहुने देखिएको महालेखाले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरलाई विभिन्न विमानस्थल, हेलिप्याड, घरको छत तथा खुला चौरमा समेत अवतरण गर्न अनुमति दिने गरेको महालेखाले जनाएको छ । ‘सन् २००१ देखि २०२० सम्म २७ हेलिकोप्टर दुर्घटना हुँदा ७३ यात्रुको ज्यान गएको छ । तर, १४ दुर्घटनाको कारण पहिचान नै गरिएको छैन भने अन्य १३ दुर्घटनामा पनि भौगोलिक विकटता र चालकको त्रुटि उल्लेख छ’ प्रतिवेदनमा भनिएको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्डमा पर्याप्त ध्यान दिई नियमन प्रभावकारी बनाएर दुर्घटना नहुने अवस्था सिर्जना गर्न महालेखाको सुझाव छ ।
वायुसेवालाई दोब्बर भाडा असुल्न अनुमति
नियामक निकाय क्यानले १५ क्षेत्रमा दुई वायुसेवा कम्पनीलाई मन्त्रालयबाट स्वीकृत भएको भाडाको अधिकतम दरभन्दा पनि दोब्बर लिन अनुमति दिएको महालेखाले फेला पारेको छ । यस्तै, चार्टर्ड उडानमा नियमित उडानको अधिकतम दरभन्दा दोब्बर भाडा लिन पाउने गरी सरकारले चार्टर्ड भाडादर स्वीकृत गरेको पनि भेटिएको छ । यस्तै, नेपालमा भएका हवाई दुर्घटना सम्बन्धमा विभिन्न छानबिन समितिले दिएका निर्देशनलाई हवाई सुरक्षाको क्षेत्रमा कार्यान्वयन नगरेको र अभिलेखसमेत नराखेको महालेखाले बताएको छ ।
‘समीक्षा वर्षमा विभिन्न एयरलाइन्स, सरकारी तथा गैरसरकारी संस्थाहरूबाट प्राप्त हुन बाँकी दुई अर्ब २२ करोड २१ लाख रुपैयाँ रहेको छ, जसमध्ये ६ महिनाभन्दा पुरानो असुल हुन बाँकी एक अर्ब ६० करोड ४५ लाखलाई शंकास्पद आसामीका रूपमा शतप्रतिशत व्यवस्था गरी लेखांकन गरिएको छ’ प्रतिवेदनमा भनिएको छ । ‘तर, सम्बन्धित पक्षलाई जिम्मेवार बनाई बक्यौता असुल गर्न नियामक निकाय क्यान नै असफल भइरहेको महालेखाको ठहर छ । समीक्षा वर्षको अन्त्यमा क्यानले अन्तर्राष्ट्रिय उडान गर्ने २२ कम्पनीबाट ३३ करोड नौ लाख रुपैयाँबराबरको धरौटी रकम प्राप्त गर्न बाँकी छ ।
बुटिक एयरपोर्टको नाममा भ्रष्टाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा विकास गर्नका लागि भएका खर्च पारदर्शी नदेखिएको भन्दै महालेखापरीक्षकले क्यानमाथि औँला ठड्याएको छ । त्यस्तै, नेपाल वायुसेवा निगमको वाइडबडीको उडान क्षमता दैनिक १६ घन्टा रहे पनि अहिले नौ घन्टा मात्र सञ्चालन गर्दा अपेक्षित आम्दानी नभएको र कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषबाट लिएको ऋणको साँवाब्याजको किस्तासमेत भुक्तानी गर्न नसकेको जनाएको छ । निगमले चीनबाट ल्याएका एमए–६० र वाई–१२–ई जहाजबाट ०७१/७२ देखि ०७५/७६ सम्म सञ्चालन नोक्सानी ७७ करोड ७४ लाख र कुल नोक्सानी एक अर्ब ९० करोड ६९ लाख भएको देखिन्छ ।
चार क्यासिनोको रोयल्टी साढे ७४ करोड बाँकी
विगत वर्षदेखि चार क्यासिनोले बुझाउनुपर्ने रोयल्टी ७४ करोड ४८ लाख ९८ हजार दाखिला नगरेको र बक्यौता रकम र सोमा लाग्ने थप शुल्कसहित असुल गर्नुपर्ने महालेखाले आफ्नो ५९औँ वार्षिक प्रतिवेदनमा पनि औँल्याएको छ । समीक्षा वर्षमा १६ क्यासिनो सञ्चालकबाट निवेदन दस्तुर, इजाजत दस्तुर, रोयल्टी रकम, नवीकरण दस्तुर र वार्षिक थप दस्तुरसमेत ४३ करोड ७५ लाख राजस्व दाखिला गर्नुपर्नेमा १० क्यासिनोबाट ११ करोड ५५ लाख मात्र दाखिला भई ६ क्यासिनोबाट ३२ करोड २० लाख दाखिला गर्न बाँकी छ ।