भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुने

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण
  • २४–२५ असोजमा आयोजना हुने महोत्सवमा तारे होटेलदेखि विभिन्न परम्परागत तथा स्थानीय परिकार उपलब्ध हुने, राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहने 

भैरहवा/ रुपन्देहीको भैरहवामा यही २४–२५ असोजमा ‘सिद्धार्थ सडक खाना महोत्सव आयोजना हुने भएको छ । चेम्बर अफ कमर्स, रुपन्देहीले भैरहवामा दुईदिने ‘सडक खाना’ महोत्सव गर्ने भएको हो ।

घटस्थापनाको पूर्वसन्ध्यामा भैरहवाको बसपार्कदेखि देवकोटा चोकसम्म सडक खाना महोत्सव सञ्चालन हुन लागेको चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले जानकारी दिए । स्थानीय उत्पादक, किसान, खाद्य व्यवसायी, महिला तथा युवा उद्यमीलाई प्रत्यक्ष बजारसँग जोड्ने, होटेल तथा पर्यटन व्यवसायलाई चलायमान बनाउने र स्थानीय उत्पादनको बजारीकरण गर्ने लक्ष्य महोत्सवको रहेको अध्यक्ष रोकाले बताए ।

महोत्सव हरेक दिन साँझ पाँच बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा करिब एक सयवटा स्टल रहनेछन् । महोत्सवमा करिब ५० हजारभन्दा बढी दर्शक तथा उपभोक्ता सहभागी हुने आयोजकले अनुमान गरेको छ । महोत्सवमा तारे होटेलदेखि विभिन्न जातजातिका परम्परागत परिकार उपलब्ध रहनेछन् ।

महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहने जनाइएको छ । महोत्सवमा गायक दुर्गेश थापा, भोजपुरी कलाकार प्रीति पासवान र स्थानीय कलाकारको प्रस्तुति रहनेछ । स्थानीय मौलिक खाना तथा जातीय परिकारसँगै कला, संस्कृति र परम्परालाई समेत प्राथमिकता दिने कार्यक्रमका संयोजक विनोद खरेलले बताए ।

बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकलाई सिद्धार्थनगरमा आकर्षित गरी उनीहरूको बसाइ अवधि र स्थानीय खर्च बढाउने लक्ष्य राखिएको छ । चेम्बर अफ कमर्स रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राममिलन यादवले सडक खाना महोत्सवका माध्यमबाट सिद्धार्थनगरलाई आर्थिक रूपमा चलायमान बनाउन महात्सवको आयोजना गरिएको बताए । चेम्बर अफ कमर्स रुपन्देहीका पूर्वअध्यक्ष दर्पण श्रेष्ठले लुम्बिनीलाई केन्द्रविन्दु बनाएर सिद्धार्थनगरलाई पर्यटन सेवा खाना र आतिथ्यको प्रवेशद्वारका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए । 

सुझावित समाचार