कोसी ब्यारेजका फिस ल्याडर नखोलिँदा डल्फिनलाई समस्या

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण
कोसी ब्यारेजका फिस ल्याडर नखोलिँदा डल्फिनलाई समस्या

फाइल फोटो

कोसी ब्यारेजमा जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ । जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोसी ब्यारेज पार गर्न नपाएका हुन् ।

जलचर प्राणी (डल्फिन र माछा) ब्यारेज वारपार गर्ने दुईवटा बाटा छन् । कोसीमा रहेका १५ देखि १८ वटा डल्फिन उक्त बाटो बन्द हुँदा ब्यारेज पार गर्न पाएका छैनन् । जलचर प्राणीले नेपाल तर्फबाट भारततर्फ पानीको वेगसँगै सहज पार हुने र भारततर्फबाट नेपालतर्फ आउन फिस ल्याडरको बाटो प्रयोग गर्ने गरेको कोसी टापु वन्यजन्तु आरक्षण केन्द्रका प्रमुख रामचन्द्र खतिवडाले बताए । हाल डल्फिन, माछा, घडियाल गोहीलगायतका जलचर प्राणीले कोसी ब्यारेज वारपार गर्न नसकेको उनले बताए ।

४०-५० वर्षअघि बनेको कोसी ब्यारेजको ६ नम्बर गेट र ५२ नम्बर गेटमा बनेका फिस ल्याडर बन्द छ । फिसल्याडर सञ्चालनमा आए डल्फिन र ठूला प्रजातिका जलचर प्राणी कोसी ब्यारेज पार गर्न सक्छन् । निर्माण भएको एक-दुई वर्षपछि फिस ल्याडर बन्द रहेका कारण डल्फिनहरू ब्यारेज पार गर्न पाएका छैनन् । केही समयअघि सुनसरीको बराहक्षेत्रमा डल्फिनहरू देखिने गरेका थिए ।

जाडो मौसममा कोसी पार गरेका डल्फिन हाल ब्यारेजको दक्षिण भारतीय क्षेत्रतर्फ आएर जाम भएर बसेका छन् । डल्फिन जाडोमा तल्लो भू–भागमा झर्ने र गर्मी मौसममा सन्तान वृद्धिका लागि माथिल्लो भू–भागमा जाने गरेको आरक्षण केन्द्रका प्रमुख खतिवडाले बताए ।

जलचर संरक्षण ऐनका अनुसार यसको सञ्चालन गर्ने, नियमन गर्ने दायित्व जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको हुने उल्लेख गरिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई आफूहरूले भारतीय पक्षलाई सञ्चालनका लागि निर्देशन दिन अनुरोध गरिएको जानकारी दिए । 

फिस ल्याडर सञ्चालनमा आए डल्फिनले र माछाले कोसी पार गर्न सक्ने तथा डल्फिन र माछाको संख्या बढ्ने उनले जानकारी दिए । नेपाल र भारतको सहमतिमा फिस ल्याडर बने पनि केही वर्ष सञ्चालनमा आएर बन्द छ ।

सुझावित समाचार