भीम रावलकाे आराेप– एसपिपी सम्झौता अगाडि बढाउने षड्यन्त्र भइरहेको छ

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका सांसद भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा सांसद रावलले यस्तो आरोप लगाएका हुन् । 

सांसद रावलले कुनै न कुनै किसिमबाट सरकारले एसपिपीमा जोडिने रणनीति बनाइरहेको सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यकता रहेको बताए । सम्झौता अघि नबढाउने बारेमा मन्त्रीहरूले नै संसदमा स्पष्ट पार्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र नपठाउनुले नेपाललाई शक्ति राष्ट्रहरूको द्वन्द्वमा धकेल्नको लागि साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने चलखेल गर्न लागिएको उनको भनाइ थियो ।

‘भित्रभित्रै कुनै एउटा बाटो खोजेर नेपाललाई शक्ति राष्ट्रहरूको द्वन्द्वमा धकेल्नको लागि त्यो साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने चलखेल भइरहेको छ भन्ने सुन्नमा आएको छ,’ उनले भने ।   

सांसद रावलले सत्तापक्षकै सांसदले पत्र नपठाएको कुरा संसदमा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसको जवाफ दिन आवश्यक रहेको पनि बताए  ।

सुझावित समाचार