स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको कार्यविभाजन भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ र राज्यमन्त्री केसीको उपस्थितिमा कार्यविभाजन भएको हो । जसअन्तर्गत राज्यमन्त्री केसीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेस गर्ने अख्तियारी दिइएको छ ।
यस्तै, मन्त्रालय वा यसअन्तर्गतका वा सोअन्तर्गत रहेका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजनालगायतका सम्पूर्णको अनुगमन गर्ने, समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पेस गर्ने रहेको छ ।
यस्तै, विशिष्टिकृत अस्पतालहरूको सेवाप्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेस गर्ने अख्तियारी स्वास्थ्य राज्यमन्त्रीलाई दिइएको छ । विशिष्टिकृत अस्पतालहरूको न्यूनतम सेवा मापदण्डसम्बन्धी विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने अधिकार पनि राज्यमन्त्रीलाई दिइएको छ।
