गत वर्षको तुलनामा धान रोपाइँ करिब १५ प्रतिशत कम भएको छ । हालसम्म देशभर करिब ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको बाली विकास तथा जैविक विविधता केन्द्रले जनाएको छ । गत वर्ष मध्य असारसम्म ६० प्रतिशत धान रोपाइँ भइसकेको केन्द्रको तथ्यांक छ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ धान दिवस मनाइरहँदा देशभर गत वर्षको तुलनामा कम धान रोपाइँ भएको हो । गत वर्ष मनसुन सबै क्षेत्रमा सक्रिय भएको हुँदा समयमै किसानले धान रोपाइँ भइसकेको थियो । तर, यसपटक मनसुन फरक–फरक तरिकाले सक्रिय भइरहँदा कुनै ठाउँमा बढी र कम रोपाइँ भएको अनुमान केन्द्रको छ ।
यस वर्ष पश्चिम तराईमा मौसम सक्रिय हुँदा पूर्वी भूभागमा रोपाइँ कम भएको बाली विकास तथा जैविक विविधता केन्द्रका प्रभुख महानन्द जोशीले जानकारी दिए ।‘यसपटक मल र सिँचाइको पनि अभाव देखियो तराईका विभिन्न भेगमा भूगोलअनुसारले पनि रोपाइँ ढिलो हुने हुँदा गत वर्षको तुलनामा कम धान रोपाइँ भएको जोशीले जानकारी दिए । ‘धान रोपाइँ जारी छ, तराईमा साउन मसान्तसम्म रोपाइँ हुनेहुँदा अहिले नै भन्न त सकिँदैन, तर गत वर्षको तुलनामा रोपाइँ कम भइरहेको छ,’ जोशीले भने । केन्द्रका अनुसार हालसम्म प्रदेश१मा ३२ प्रतिशत, मधेस प्रदेशमा २० प्रतिशत, गण्डकी प्रदेशमा ४२ प्रतिशत, लुम्बिनी प्रदेशमा ५३ प्रतिशत, कर्णाली प्रदेशमा ७० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५५ प्रतिशत धान रोपाइँ भएको छ ।
केन्द्रले दिएको जानकारीअनुसार सबैभन्दा धेरै धान रोपाइँ कर्णाली प्रदेशमा भएको छ । मध्य पहाडी भेग भएकाले पनि यस क्षेत्रमा रोपाइँ जेठको अन्तिमबाट सुरु भएको थियो । त्यसैगरी, सबैभन्दा कम धान रोपाइँ मधेस प्रदेशमा भएको छ । मधेसलाई अन्नको भण्डार भनिए पनि यस क्षेत्रमा गत वर्ष सोही समयमा ५० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो ।
तर, यस वर्ष मलको चरम अभाव र सिँचाइको कमीले पनि धान रोपाइँमा कमी आएको नेपाल कृषक संघका अध्यक्ष नवराज बस्नेतले जानकारी दिए । मधेसमा पहिलो ठाउँअनुसार सिँचाइ लाग्ने आकासे पानीको भरमा पनि धान रोपाइँ हुने गर्छ । सिँचाइ भएको ठाउँमा पनि मलको अभाव छ, सिँचाइ नभएको ठाउँमा आकासे पानीको भर पर्नुपर्ने बाध्यता छ,’ बस्नेतले भने । त्यस्तै, लुम्बिनी प्रदेशमा ५३ प्रतिशत भएको छ भने सुदूरपश्चिम प्रदेशमा ५५ प्रतिशत धान रोपाइँ भएको हो ।
मल अभाव कायमै
किसानले मल नपाएर रोपाइँ ढिलाइ भइरहँदा सरकारले किसानलाई पर्याप्त मल दिनसकेको छैन । कृषक संघका अध्यक्ष नवराज बस्नेतका अनुसार देशभर ५५ प्रतिशतभन्दा बढी किसानले विनामल नै धान रोप्न बाध्य भएका छन् । रोपाइँअघि डिएपी मलको आवश्यकता पर्छ भने रोपाइँको १२–१५ दिनपछि युरिया मलको आवश्यकता पर्छ । किसानलाई मलको आवश्यक पर्ने मुख्य समय भनेकै धानबालीको समयमा हो । तर, यसपटक पनि किसानले मलविनै धान रोप्न बाध्य भए ।
किसानलाई यस सिजनमा करिब साढे तीनलाख मेक्ट्रिकटन मलको आवश्यकता पर्छ । मन्त्रालयका अनुसार अहिले करिब ५५ हजार मेक्ट्रिकटन डिएपी मल मौज्दात रहेको छ भने युरिया मल आउने प्रक्रिया रहेको छ । भारतबाट जिटुजीमार्फत आउन लागेको करिब ५० हजार मेक्ट्रिकटन युरिया मलमा पहिलो लटमा करिब २२ हजार मेक्ट्रिकटन मल आउने प्रक्रिया रहेका मन्त्रालयको दाबी छ ।