महामन्त्री थापाले मागे अर्थमन्त्रीको राजीनामा

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण
महामन्त्री थापाले मागे अर्थमन्त्रीको राजीनामा

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । अर्थमन्त्री शर्माको सम्बन्धमा संसद्भित्र र बाहिर प्रश्नहरू उठेकोले राजीनामा दिनुपर्ने उनले बताए । 

‘अहिले अर्थ मन्त्रालयले सिसिटिभि फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन,’ महामन्त्री थापाले भने, ‘तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनुपर्छ । र, तत्काल छानबिन गर्नुपर्छ ।’

महामन्त्री थापाले यस विषयमा छानबिन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए अर्थमन्त्री शर्मालाई कारबाही गर्नुपर्ने पनि बताए । यस विषयमा छानबिन नगर्दा गलत नजिर बस्ने उनको भनाइ थियो  ‘यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन । यस्तो गर्याैँ भने यसको एउटा नजिर बस्छ । र, जे गरे पनि हुन्छ भन्ने कुरा रहन्छ । वा, हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ,’ थापाले भने, ‘त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हितमा छ । तत्काल उहाँले राजीनामा दिने वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने ।’ छानबिन गरेपछि दोषी हो भने दोषीले यसको सजाय प्राप्त गर्ने नै कुरा भयो । दोषी होइन भने कम्तीमा देशलाई, जनतालाई थाहा भयो । यो होइन रहेछ भन्ने कुरा थाहा भयो ।’

महामन्त्री थापाले अर्थ मन्त्रालयको सिसिटिभि फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए । उनले अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफूहरूले अनौपचारिक रूपमा भनिसकेको पनि बताए । 

सुझावित समाचार