पासपोर्ट बनाउन सकस, विभाग भन्छ– सबै सेवाग्राही एकैपटक आउँदा समस्या भो

आइतबार, १९ असार, २०७९
डिजिटल संस्करण
पासपोर्ट बनाउन सकस, विभाग भन्छ– सबै सेवाग्राही एकैपटक आउँदा समस्या भो

फाइल फाेटाे

राहदानी विभागले सबै सेवाग्राही एकैपटक राहदानी (पासपोर्ट)का लागि आउँदा समस्या भएको जनाएको छ। विभागले आइतबार एक सूचना जारी गर्दै सबै सेवाग्राही बिहान एकैपटक आउँदा समस्या भएको जनाएको हो।

जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरू प्रत्येक हप्ता प्रिन्ट गरी सम्बन्धित जिल्लामा पठाउने व्यवस्था गरिएको भन्दै विभागले अति जरुरी परेका सेवाग्राहीलाई मात्र विभागमा आउन आग्रह गरेको छ।

‘सबै सेवाग्राहीहरू बिहान एकैपटक आउँदा विभागमा उल्लेख्य भिड हुने भएकाले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउनुहुन हार्दिक अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरूले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रूपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनुहुन सेवाग्राहीमा अनुरोध छ।’

विभागका अनुसार दैनिक दुई हजार चार सयजनाले राहदानीका लागि आवेदन दिने गरेका छन्। विभागले सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रवाह गरेको उल्लेख गर्दै दैनिक ६ हजार पाँच सय राहदानी वितरण गरिरहेको सूचनामा जनाएको छ। यद्यपि, अनलाइन आवेदन दिँदा सर्भर डाउन हुने र कर्मचारीको ढिलासुस्तीका कारण दुःख पाइरहेको भन्दै सेवाग्राहीले भने असन्तुष्टि जनाउँदै आएका छन्।

सुझावित समाचार