पोखरा महानगर : बजेट पुस्तिका च्यातेको एमालेले बजेट प्रस्तुत गर्न दिने सहमति

शुक्रबार, १० असार, २०७९
डिजिटल संस्करण

पोखरा महानगरपालिकामा नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि अवरुद्ध नगर सभा पुनः सञ्चालन हुने भएको छ। महानगरपालिकाका मेयर धनराज आचार्य र एमालेका जनप्रतिनिधिबीच सहमति भएसँगै नगर सभा पुनः सञ्चाालन हुने भएको हो । 

नगर सभाबाट बजेट पारित हुनुअगाडि नै बजेट रातो किताबमा प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले विरोध जनाउँदै राधिका शाहीले रातो किताब च्यातेकी थिइन् । उनले १७६ जना नगरपालिका सदस्यको अधिकार हनन् गरी लोकतान्त्रिक विधि, विधानलाई कुल्चँदै र नगर सभा सदस्यको अधिकारलाई कुल्चँदै बजेट प्रस्तुत हुनुभन्दा अगाडि नै रातो किताब छापेकाले एमाले बजेटमा सहभागी नहुने बताएकी थिइन् । 

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले आफूहरूको अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै सभामा नाराबाजी गरेका थिए। उहाँहरूले रातो किताब छापेको विषयमा मेयरको जवाफबाट चित्त नबुझेको भन्दै महानगरको सभागृहबाहिर नाराबाजी गरेका थिए । उनीहरूको नाराबाजीपछि मेयर आचार्यले १० मिनेटका लागि नगर सभा स्थगित भएको घोषणा गरेका थिए। पोखरा महानगरले शुक्रबार (आज) नै करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने भएको छ । 

सुझावित समाचार