नेकपा एमालेका सांसद डा. भीम रावलले एसपिपी स्वीकार्य हुँदैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै सांसद रावलले अमेरिकी दूतावासले नेपालले नचाहेमा एसपिपी सम्झौता नहुने भन्दै अमेरिकालाई सरकारले तत्काल पत्र लेख्नुपर्ने बताएका हुन् । उनले कागजातको अध्ययन गरेर राष्ट्रिय हितविपरीत काम गर्नेहरूलाई कानुनी कठघरामा उभ्याउन सक्नुपर्ने पनि बताए । सांसद रावलले कोही नेपालीले पनि सैन्य सम्झौता हुन नचाहने स्मरण गराउँदै सरकारले यसमा गम्भीर बन्न आवश्यक रहेको बताए ।
सांसद रावलले देशको परराष्ट्रमन्त्रीले देशव्यापी रूपमा भइरहेको बहसलाई नकोट्याऔँ भन्न नमिल्ने बताए। उनले नेपालको परराष्ट्रनीति, नेपालको स्वाधीनता स्वतन्त्रता सरकार, व्यक्ति, मन्त्री विशेषसँग मात्र सरोकारको विषय नभएको जिकिर गर्दै उनले बहसको पूर्ण जानकारी नहोउन्जेल सहमतिमा जान नसक्ने बताए । ।
सांसद रावलले नेपाली सेनाले दिनैपिच्छे फरक कुरा गर्न नमिल्ने बताए ।
उनले नेपाली सेना देशको सुरक्षाको अन्तिम र सुरक्षा संयन्त्र भएको उल्लेख गर्दै यस्ता समस्यामा पर्ने हो भने राष्ट्रिय सुरक्षाको आधार नै भताभुंग हुने बताए। उनले प्रतिनिधिसभामा परराष्ट्रमन्त्रीले भ्रमपूर्ण जवाफ दिएको दाबी गरे । उनले अमेरिकी उपविदेश सहायकमन्त्रीको भ्रमणको वेला तिब्बती शरणार्थी शिविरमा भेट गरेर परराष्ट्रमन्त्रीले नेपालको हितमा छ भन्नुले परराष्ट्रनीतिको रक्षा हुन नसक्ने बताउनुभयो । जसक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्का र सांसद रावलबीच भनाभनसमेत भएको थियो ।
सांसद रावलले सन् २०१९ मा इन्डो-प्यासिफिक रिपोर्टमा नेपाल जोडिएको कुरा उल्लेख गरिएको भन्दै सरकारले सम्झौता, सन्धि गर्ने र जोडिएको रिपोर्ट आउने कुरा खेलाँची नभएको स्पष्ट पारे ।